गाडीको अभावले दशै मनाएर कर्मथलो फर्कनेहरुलाई सास्ती

  • ५ कार्तिक २०७५, सोमबार
  • 1547 पटक पढिएको


बेनी ५ कात्तिक । यात्रुको चाप अनुसार सार्वजनिक सवारी साधनको ब्यवस्था नहुँदा म्याग्दीका सर्वसाधारणलाई दसै मनाएर कर्मथलो फर्कन समस्या भएको छ ।ग्रामिण क्षेत्रदेखि सदरमुकाम बेनी र बेनी देखि पोखरा, काठमाडौ, भैरहवा, नारायणघाट लगायत लामो दुरीमा छुट्ने सवारी साधन अभाव भएपछि यात्रुहरु समस्यामा परेका हुन् । ट्याक्सी, जिप, माईक्रोबस र बसको अभावका कारण तोकिएको भन्दा बढी भाडा तिर्नुपर्ने, जोखिम मोलेर यात्रा गर्नुपर्ने र समयमा गन्तब्यमा पुग्न नसकेको यात्रुहरुले गुनासो गरेका छन् ।

बिरामीबुवालाई उपचारका लागि पोखरा लैजान हिडेका बेनपा ३ भकिम्लीका खिमबहादुर पुनले बसपार्कमा चार घण्टासम्म ट्याक्सी कुरेर बस्नुपर्दा गाहे भएको गुनासो गर्नुभयो । दशैमा माइती आएर पोखरा फर्कनका लागि साँझ ५ बजेसम्म गाडी नपाएपछि सोमबार बेनीमै बास बस्नुपरेको पोखराकी रिमा भण्डारीले बताउनुभयो ।

यात्रुको चाप एकैपटक बढेको, अधिकांश सवारी साधन रिजर्भमा मुस्ताङ गएका र सिमित संख्याका सवारी साधन भएकाले ब्यवस्थापन गर्न समस्या भएको यातायात ब्यवसायीले बताएका छन् । नेपाल राष्ट्रिय यातायात ब्यवसायि महासंघका केन्द्रिय सदस्य सुमन श्रेष्ठले बाटोमा आउदै गरेका गाडीसंग सम्र्पक गरेर अग्रिम टिकट बुक गरेर भएपनि यात्रुलाई गन्तब्यमा पठाउने ब्यवस्था मिलाएको बताउनुभयो ।

यात्रुको चाप एकैपटक बढेकाले ब्यवस्थापन गर्न कठिन भएको म्याग्दीकाली जिप ब्यवसायी समितिका कोषाध्यक्ष समेत रहेका श्रेष्ठले बताउनुभयो । अन्य ठाउँको तुलनामा बेनी–पोखरा रुटमा चल्ने सवारी साधन नपाएको यात्रुहरुको गुनासो छ ।

बेनी–पोखरा रुटमा अन्य समयमा दैनिक रुपमा म्याग्दी काली जिप ब्यवसायि समितिका ३० वटा जिप, पोखरा–बेनी ट्याक्सी इकाई समितिका बीस वटा ट्याक्सी, धवलागिरी अञ्चल यातायात ब्यवसायि समितिका १२ वटा ठूला बस चल्ने गर्छन् ।

नियमित चल्ने बसले नपुगेपछि सोमबार बेनी देखि पोखरा सात वटा बस थप गरेर यात्रुलाई गन्तब्यमा पुग्ने ब्यवस्था मिलाएको धवलागिरी बस ब्यवसायि समितिका कर्मचारी राजु बोगटीले बताउनुभयो ।

सवारी साधनको अभाव भएको मौका छोपेर ट्याक्सीले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक राजेन्द्र पौडेलले बेनी–पोखरा रुटमा प्रतियात्रु छ सय रुपैया भाडा तोकिएकोमा आठ सय रुपैयाका दरले भाडा लिएर पोखरा जान लागेको अवस्थामा एक वटा ट्याक्सीलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

यात्रु सहायता कक्ष मार्फत गुनासोको सुनुवाई र सम्बोधनसँगै दुर्घटना न्युनीकरणका लागि चेकजाँच र अनुगमन गरिरहेको प्रसनी पौडेलले बताउनुभयो । यातायात ब्यवसायिहरुसंग समन्वय गरेर यात्रुको चाप अनुसार गाडी थप गर्न पहल गरेको पौडेलको भनाई छ ।