हिमआँधिमा परेर वेपत्ता भएकाको चार दिनपछि शव भेटियो
- २८ आश्विन २०७५, आईतवार
- सन्तोष गौतम
- 2825 पटक पढिएको
म्याग्दी, २८ असोज । धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधिमा परेर वेपत्ता भएका नौ जनाको चार दिनपछि आइतबार बिहान शव भेटिएको छ । हेलीकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीहरुको टोलीले पहाडको खोचँबाट नौ जनाको शव संकलन गरेका हुन् ।
आधार शिविरमा संकलन भएको शवहरुलाई गुर्जामा ल्याएर एकिन र पहिचान गरि हेलीकप्टरबाट गुर्जाका एक जनाको बेनी र अन्य आठ वटा शव काठमाडौ पठाउने तयारी भएको म्याग्दीमा प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार असोज २४ गते राती सुतिरहेको अवस्थामा आएको हिमआधिँमा परेर दक्षिण कोरीयाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको छ ।
यसैगरी धवलागिरि गाउँपालिका १ गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, संखुवासभाको हटियाका ३९ वर्षीय छिरीङ भोटे, संखुवासभाकै भोटेखोला गाउँपालिका ३ का २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बु घर बताउने फुर्बा भोटेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।