गुर्जा हिमालको आधार शिविरमा ८ जना मृत भेटिए

  • २७ आश्विन २०७५, शनिबार
  • 3231 पटक पढिएको

बेनी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जना मध्ये ८ जनाको शब भेटीएको छ । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियन र ४ जना नेपाली टोलीमध्ये ८ जनाको सब भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका आरोही टोली आँधी हुरीको दुर्घटनामा परेको हुनसक्ने धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो ।

उहाँका अनुसार, आधार शिविरमा उनीहरुको सब अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न सकिएको छैन् । उद्धारको लागि पुगेको हेलिकप्टर समेत उद्धारमा कठिनाई देखिएपछि फर्किएको र थप स्रोत र साधन लिएर पुन उद्धारमा जाने तयारी भएको बताईएको छ । असोज २१ गते सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आधार शिविरमा पुगेका थिए ।

सो टोलीलाई भेट्न २४ गते एक नेपाली र एक कोरियन नागरिक आधार शिविरमा पुगेका थिए । आरोही टोलीलाई भेट्न गएको टोली निर्धारित समयमा नफर्किएको र सञ्चार सम्पर्क समेत विच्छेद भएपछि गुर्जाबाट खोजीको लागी गएका स्थानीयको टोलीले उनीहरु मृत अबस्थामा भेटीएको पुष्टी गरेको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।

‘‘ पछिल्लो टोली एक दिनमात्रै बसेर फर्कने तालिका थियो, तर उनीहरु नै दुर्घटनामा पर्नुले असोज २४ गते नै घटना घटेको देखिन्छ, जब त्यो टोली फर्कन ढिला गरेपछि आंशका बढ्यो, किन ढिलाई गर्यो भनेर खोजी गर्दा सबहरु भेटिए’’– वडा अध्यक्ष छन्त्यालले भन्नुभयो ।

यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बिर बहादुर बुढामगरले आधार शिविरमा पर्यटकहरुको सब भेटीएको गुर्जाका स्थानीयबाट खबर आएपछि उद्धारको लागि पुगेको हेलीकप्टर आधार शिविरमा बस्न नसकेर फर्किएको जानकारी दिनुभयो । हेलीकप्टरबाट ८ जनाको सब जस्तो देखिएको खवर आएपनि उद्धारमा कठिनाई भएकाले विस्तृत विवतरण आउँन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरि आधार शिविरतर्फ लागेको थियो ।