पश्चिम दरवाङको २६ करोड लगानी

  • २१ आश्विन २०७५, आईतवार
  • 1981 पटक पढिएको

गोपाल आचार्य
दरवाङ २१ असोज । मालिका गाउँपालिका ६ दरवाङमा रहेको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड रुपैया भन्दा बढी लगानी गरेको छ । संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले शनिबार भएको ११ औ साधारणसभामा गत आर्थिक वर्षमा २७ करोड ८२ लाख ३३ हजार ८२४ रुपैयाँ निक्षेप संकलन गरेको सहकारीले २६ करोड ४१ लाख नौ हजार ९३२ रुपैयाँ लगानी गरेको जानकारी दिनुभयो ।

चार हजार ८९० जना सेयर सदस्यको चार करोड ४० लाख ९७ हजार २०० रुपैया पुँजी रहेको सरकारी संस्थाले तत्कालीन दरवाङ र पश्चिम म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको एकिकरण भएपछि २०७५ जेठ १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । दुई वटै संस्थाको गत आवको खुद नाफा छ करोड ५० लाख ५३१ रुपैयाँ रहेको जानकारी गराइएको थियो ।


सहकारीले अत्याधुनिक प्रबिधिको प्रयोग गरेर मोवाईल एप्स, एसएमएस, मोवाइल टपअप मार्फत वित्तीय सेवा दिएको लेखापाल सन्तोष शर्माले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको सञ्चालक सदस्य रामबहादुर जिसीले सहकारीले उत्पादनमूलक क्षेत्रको पहिचान गरेर लगानी बढाउनुपर्ने बताउनुभयो ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र वडा अध्यक्ष सन्तोष सुवेदीले सहकारी संस्था खुलेपछि ग्रामिण क्षेत्रको आर्थिक कारोबारमा सहज भएको बताउनुभयो । साधारणसभाको अवसरमा सहकारीका सल्लाहकार मोतीराज गौतम, लेखा समिति संयोजक गिरीप्रसाद छन्त्याल, गरिमा विकास बैंकको दरवाङ शाखा प्रमुख नारायण शर्माले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, सहसचिव बालकृष्ण शर्माको सञ्चालन र उपाध्यक्ष भिमप्रसाद गौतमको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको अवसरमा सहकारीको भवनको समेत उद्घाटन गरिएको थियो । साधारणसभाले एकीकरणपछि बनेको सञ्चालक समितिलाई अनुमोदन गरेको छ । सुरेन्द्रराज शर्मा अध्यक्ष, भिमप्रसाद गौतम उपाध्यक्ष, लेकबहादुर पुन सचिव, बालकृष्ण शर्मा सहसचिव र कृष्णप्रसाद आचार्य कोषाध्यक्ष रहनुभएको सञ्चालक समिति सधारणसभाबाट अनुमोदन भएको हो । समितिका सदस्यहरुमा दिवाकर सुवेदी, मायादेवी शर्मा, थमन गौतम, हरिकला थापा कमलनाथ शर्मा, दुर्गाप्रसाद बुढा रहनुभएको प्रबन्धक प्रेमलाल कडेल (सदन)ले बताउनुभयो ।


गिरीप्रसाद छन्त्यालको संयोजकत्वमा चुडामणी सापकोटा र जगत सापकोटा सदस्य रहनुभएको लेखा र भिमप्रसाद गौतमको संयोजकत्वमा कलनाथ शर्मा र दिवाकर सुवेदी सदस्य रहनुभएको ऋण समितिले निरन्तरता पाएको छ । आर्थिक कारोबारका हिसाबले दरवाङका दुई सहकारी संस्थाको एकिकरण पछि बनेको संस्थाले अन्य संस्थालाई पनि एकिकरणमा सहभागि बनाउने र सेवा क्षेत्र विस्तार गर्ने योजना बनाएको छ ।