करबाकेलीमा होमस्टे तालिम सुरु

  • २१ आश्विन २०७५, आईतवार
  • 1853 पटक पढिएको

बेनी २१ असोज । अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शनिबारदेखि होमस्टे (घरबास) सेवा सम्बन्धी तालीम सुरु भएको छ । करबाकेली संरक्षण र ब्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडौको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

गत बैशाखदेखि सञ्चालनमा आएका करबाकेली इको पदमार्गमा समेटिएका काफलडाँडा, रिमा, राम्चे, लोप्रे र कुवापानीका ३५ जनाको सहभागिता रहेको करबाकेली संरक्षण समितिका अध्यक्ष चामबहादुर पुनले जानकारी दिनुभयो ।

तालिमको सत्यनारायण शाह, समिक शर्मा, बद्री अर्यालले सहजिकरण गर्नुहुने जनाइएको छ । स्वदेश तथा विदेशमा प्रचार–प्रसार भएको करबाकेली इको ट्रेकको भ्रमणमा आउने पर्यटकको खाना र आवास सुबिधा तथा स्थानीयबासीको आयआर्जनका लागि होमस्टे सञ्चालन गर्न तालिमको आयोजना गरिएको समितिका सचिव यामबहादुर पुनले बताउनुभयो ।

पुन थरका मगर समुदायको ऐतिहासिक धार्मिक स्थल करबाकेलीलाई केन्द्र बनाएर बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई समेटेर करबाकेली इको ट्रेक सञ्चालन गरिएको छ ।