गणित विषयको अवस्थाका बारेमा अन्तरक्रिया

  • २० आश्विन २०७५, शनिबार
  • 2591 पटक पढिएको

बेनी २० असोज । म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रबार गणित विषयको अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । मावि, दश जोड दुई र क्याम्पस तहमा गणित विषय पढ्ने विद्यार्थी र पढाउने शिक्षक अभावको समस्या समाधानका विषयमा छलफल गर्न बेनी नगरपालिकाको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसले अन्तरक्रियाको आयोजना गरेको हो ।

क्याम्पसका सहायक प्राध्यापक नारायणप्रसाद सुवेदीले प्रस्तुत गरेकोे गणित विषयको अवस्था र जनशक्ति अभाव सम्बन्धि कार्यपत्र माथि प्रकाश माविका गणति शिक्षक बालकुमार रोका र स्रोत व्यक्ति जयराम सुवेदीले टिप्पणी गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगर कार्यापालिकाका प्रवत्ता तथा ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईली, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषाल लगायत विभिन्न विद्यालयका गणित विषयका शिक्षक र प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।
म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

छलफलमा सहभागीहरुले गणित विषयबारे विद्यार्थीमा रुची जगाउन, यो कठिन विषय होइन भन्ने भावना जगाउन, दक्ष जनशक्तिको ब्यवस्था र शिक्षण विधिलाई ब्यवहारिक बनाउन सुझाव दिएका थिए ।