भम्रण बर्ष सफल बनाउन मालढुंगादेखि रुईसे सम्म साईकल यात्रा
- १९ आश्विन २०७५, शुक्रबार
- 3476 पटक पढिएको
म्याग्दी, १९ असोज । म्याग्दी भम्रण बर्ष– २०७५ सफल बनाउनको लागि विहिवार साईकल यात्रा गरिएको छ । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ राखुबासीहरुको संस्था राखु समाज कल्याण समिति काठमाण्डौको आयोजनामा पर्वतको मालढुंगादेखि म्याग्दी सदरमुकाम बेनी हुँदै पर्यटकीय स्थल रुईसे भेडिओढारसम्म बृहत साईकल यात्रा गरिएको हो ।
रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे क्षेत्रको प्रचार प्रसार र यस क्षेत्रमा साईक्लीङको सम्भावना उजागरको लागि कार्यक्रम आयोजना गरिएको समाजका प्रवक्ता प्रविन कुमार मल्लले बताउनुभयो। काठमाण्डौबाट आएका अन्र्तराष्ट्रिय साईकल खेलाडी टासी दोर्जेको नेतृत्वमा अजय पण्डित क्षेत्री, आईमान तामाङ, बुद्धि बहादुर तामाङ लगायत १० जनाको समुहले मालढुंगा देखि सुरु गरेको साईकल यात्रा बेनी, गलेश्वर हुँदै पिप्ले, भगवती भएर रुइसतर्फ लागेका छन्।
सो यात्राको समाजका अध्यक्ष प्रेम बहादुर मल्ल र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उक्तम कर्माचार्यले संयुक्त रुपमा सुभारम्भ गर्नुभएको थियो ।
मालढुंगादेखि कालोपत्रे गरेको सडकबाट गलेश्वर पुगेको सो टोलीले त्यहाँबाट पिप्ले, भगवती हूँदै रुईसेसम्मको कच्ची ट्याक निर्माण भएको उकालो सडकमा साईकल कुदाएका छन् । म्याग्दी उद्योग बाणिज्य संघको अगुवाईमा यस बर्षलाई म्याग्दी भ्रमण बर्षको रुपमा बनाउन विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । ‘‘ पर्यटकीय सम्भावनायुक्त क्षेत्रहरुको प्रचार प्रसारको लागि आयोजित भ्रमण बर्ष सफल बताउनुपर्छ, यहाँको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुगोस भनेर साईकल यात्रा कार्यक्रम तय गरेका हौँ’’– समाजका अध्यक्ष मल्लले भन्नुभयो ।
साईकल यात्रीहरुलाई सम्मान
राखु समाज कल्याण समिति काठमाण्डौको आयोजना र रघुगंगा गाउँपालिकाको संयोजनमा गरिएको साईकल यात्रामा सहभागी साईकल यात्रीहरुलाई भव्य स्वागत गरिएको छ । काठमाण्डौबाट आएका साईकल यात्रीहरुलाई बेनी स्थित पर्यटक सुचना केन्द्रमा म्याग्दी उद्योग बाणिज्य संघले स्वागत तथा सम्मान गरेको हो ।
त्यसैगरि रघुगंगा गाउँपालिका–३ गलेश्वरमा रघुगंगा गाउँपालिका, पिप्ले र भगवतीमा वडा कार्यालय, विद्यालय, आमा समुह, युवा क्लब लगायतले साईकल यात्रीहरुलाई फुल, माला र अविर लगाएर स्वागत गरेका छन् । यहाँ आएका साईकल यात्रीहरु मार्फत रुईसे भेडिओढार क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो।
भ्रमण बर्षलाई सफल बनाऔँ : म्याग्दी उद्योग बाणिज्य संघ
दर्जनौँ हिमालहरु अबस्थित रहेको म्याग्दीका पर्यटकीय ठाउँहरुको प्रचार प्रसार गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले सुरु भएको म्याग्दी भम्रण बर्षलाई सफल बनाउन म्याग्दी उद्योग बाणिज्य संघले आह्वान गरेको छ । जिल्लाको हरेक वडामा कुनै न कुनै नयाँ पर्यटकीय गन्तव्यहरु रहेकाले यस्ता ठाउँहरुको पहिचान, प्रचार प्रसार र प्रवद्र्धन गर्नको लागि भ्रमण बर्ष बनाउन सुरु गरिएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो ।
‘‘ यो म्याग्दी चिनाउने अभियान हो, हामीले विभिन्न माध्ययम मार्फत यो अभियानलाई अघि बढाएका छौँ, यहाँको पर्यटन विकासको लागि भ्रमण बर्षलाई सफल बनाउन आह्वान गरेका छौँ’’– अध्यक्ष कर्माचार्यले भन्नुभयो ।