कालीगण्डकीले भवन बगाएको विद्यालयलाई जस्तापाता सहयोग
- १८ आश्विन २०७५, बिहीबार
- 1773 पटक पढिएको
बेनी १८ असोज । करिब दुई महिनाअघि कालिगण्डकी नदीमा आएको बाढीले भवन बगाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीको धवलागिरी आधारभुत विद्यालयलाई जस्तापाता सहयोग प्राप्त भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत शिक्षा बिभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिंगापुरको आर्थिक सहयोगमा १० फुटे २९ पाटा र ८ फुटे ६९ पाटा गरी करिब १३ बण्डल रंगिन जस्तापाता प्राप्त भएको हो ।
संस्थाका नेपाल प्रतिनिधि यामबहादुर गुरुङले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खड्का र प्रधानाध्यापक शान्ती राम्जलीलाई जस्तापाता हस्तान्तरण गरेका थिए । भवन पुननिर्माणमा सहयोग पुगोस भनेर जस्तापाता उपलब्ध गराएको गुरुङले बताए ।
गत साउन ३० गते कालिगण्डकीमा आएको बाढीले सो विद्यालयको छ कोठे भवन बगाएपछि हाल स्थानीयको घरको कोठामा पठनपाठन सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणका लागि जग्गाको ब्यवस्थापन र योजना माग गरिएको प्रअ राम्जालीले बताए ।
भवन निर्माणका लागि स्थानीय जगतबहादुर बोहोराले भालेबासमा दुई आना दुई दाम दुई पैसा जग्गा उपलब्ध गराईसकेका छन् । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगत रुपमा उपलब्ध गराएको पचास हजार रुपैयाबाट त्रिपाल, म्याट्रेस खरिद गरिएको छ । लर्न नेपालले शिक्षण सामाग्री सहयोग गरेको छ ।