म्याग्दीमा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु (भिडियो सहित)
- १७ आश्विन २०७५, बुधबार
- कमल खत्री
- 2524 पटक पढिएको
बेनी, १७ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दशैँ, तिहार लगायतका ठुला चाडपर्वमा शान्ति सुरक्षालाई मजबुत राख्नको लागि चाडपर्व लक्षित बिशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वलाई मर्यादीत र साँस्कृतिक महत्वलाई उजागर गर्ने तथा विकृति र बिसंगतीहरुलाई निराकरण गर्नका लागि समेत बिषेश रणनितीको साथमा जिल्लाको शान्ति सुरक्षालाई प्रभाबकारी बनाउन लागीएको प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढामगरले जानकारी दिए ।
असोज १५ गतेदेखि तिहार सकिएको एक सातासम्म लागु हुने गरि जनशक्तिको बन्दोबस्त सहित जिल्लामा बिशेष सुरक्षा योजना कार्यान्वयन गर्न सुरु गरिएको उनले बताए। ‘‘चाडपर्वको समयमा हुनसक्ने सम्भावीत घटनाहरुलाई मध्यनजर गरि जनशक्तिको खटनपटन सुरु गरेका छौँ, बिशेष सुरक्षा योजनाको लागि मात्रै १५३ जना जनशक्ति परिचालन हुँन्छ’’–प्रनाउ बुढामगरले भने ।
जुवातास, अवैध घरेलु मदिरा विक्रि र विकृति विसंगीत संगै चोरी डकैटीलाई रोक्न जिल्ला प्रहरी कार्यालयसंगै, ईलाका, चौकी, अस्थायी प्रहरी कार्यालयबाट सोही अनुसारको जनशक्ति परिचालन हुनेछ । चाडपर्वको समयमा विदा हुने भएकाले सरकारी कार्यालय, बैँक तथा वित्तिय संस्था, व्यवसायिक क्षेत्रको सुरक्षालाई समेत बिशेष प्राथमिकता दिईने प्रनाउ बुढामगरले बताए ।बेनी स्थित कालिपुल, रत्नेचौर र घोरेपानीमा रहेको प्रहरी चौकीहरुलाई २४ सै घण्टा बिशेष क्रियाशिल बनाउँदै चाडपर्वको समयमा बाहिरबाट जिल्लामा लागु औषध, पटका लगायतका अबैध सामाग्री भित्रन सक्ने भएकाले त्यस्ता कार्य रोक्न बिशेष टोली परिचालन भएको छ ।
सादा पोशाकको प्रहरी परिचालन गरि अबैध गतिविधिलाई नियन्त्रण गरिने प्रहरीले जनाएको छ । ग्रामीण गस्ती, दुर्गम क्षेत्रमा लामो दुरीको गस्ती, मोटरसाईकल र गाडीमा मोवाईल गस्तीलाई समेत बिशेष जोड दिएर जनशक्ति परिचालन गरिने प्रनाउ बुढामगरले जानकारी दिए ।‘‘ चाडपर्वको समयमा मानिसहरुको ठुलो जमघट हुने विभिन्न मेला तथा पुजाआजा समेत हुने गर्छन्, ति ठाउँहरुमा अप्रिय घटना नहोस भनेर सर्तकता अपनाएका छौँ, सदरमुकाम बेनीसंगै अन्य बजार र ग्रामीण क्षेत्रमा समेत प्रहरीको उपस्थिती बढाउने गरि जनशक्ति परिचालन गछौँ’’– प्रनाउ बुढामगरले भने ।
चाडपर्व लक्षित रणनीतिमा ट्राफिक सहितको चेकिङलाई समेत जोड दिईएको छ । बढी भाडा असुल गर्ने र क्षमता भन्दा बढी बोक्ने सवारी साधनलाई समेत कारबाही गरिने भएकाले कतै भेटीएमा प्रहरीलाई खवर गर्न प्रनाउ बुढामगरले आग्रह गरेका छन् । चाडपर्वलाई मर्यादीत बनाउनको लागि जनचेतनामुलक अभियान समेत सुरु गरिने प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्व मनाउन बाहिर रहेका मानिसहरु समेत ग्रामीण भेगमा फर्कने भएकाले कतैपनि शान्ति सुरक्षामा खलल् पुग्ने कार्य हुन नदिन सबै सचेत बन्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आग्रह गरेका छन् ।
उनले चाडपर्वको समयमा म्याद नाघेका बस्तु ता सामाग्रीहरुको विक्रि वितरण हुनसक्ने भएकाले बजार अनुगमन कार्यलाई सुरु गर्ने तयारी गरिरहेको जानकारी दिए । चाडपर्वको समयमा यात्रुहरुको सुविधाको लागि प्रहरीले यस अघि कालिपुलमा यात्रु सहायता कक्ष स्थापना गरिसकेको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l