विद्यार्थी निष्कासन फलोअप : तत्काल अध्ययनको प्रबन्ध मिलाउन गाउँपालिकाको निर्देशन
- १६ आश्विन २०७५, मंगलवार
- 2433 पटक पढिएको
म्याग्दी, १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माविमा बिषयगत शिक्षकको व्यवस्थापन गरि नियमित पठनपाठनको माग गर्दै आन्दोलित बनेका विद्यार्थीहरुलाई एक महिनाको लागि निस्कासन गरिएको घटना प्रति गाउँपालिकाको ध्यानकर्षण भएको छ । विद्यालय र व्यवस्थापन समितिले विद्यार्थीहरुलाई अध्ययनबाटै बञ्चित गराउने गरि गरेको निर्णय तत्काल बदर गरि उनीहरुलाई सहज अध्ययनको प्रवन्ध मिलाउन रघुगंगा गाउँपालिकाले निर्देशन दिएको हो । स्रोत व्यक्ति बालकृष्ण उपाध्यायले विद्यालयले विद्यार्थीहरुलाई आन्दोलन गरेको कारण निष्कासन गरेको जानकारी गराए लगत्तै वडा अध्यक्ष , विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रअलाई टेलीफोन सम्पर्क गरि तुरुन्त बालबालिकाहरुलाई सहज अध्ययनको वातावरण बनाउन निर्देशन दिएको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताए ।
‘‘ जनप्रतिनिधि समेतको उपस्थितीमा बसेको बैठकले गरेको निर्णय कानुन विपरित छ, तत्काल निर्णय सच्याउन भनेको छु, यहाँबाट समेत टोली खटाएर थप समस्या बुझ्ने तयारी गरेका छौँ’’– अध्यक्ष भण्डारीले भने । विद्यालयले विद्यार्थीहरु निष्कासन गरेको सुचना पाएपछि स्रोत व्यक्ति उपाध्यायले रघुगंगा गाउँपालिका कार्यालयलाई मौखिक रुपमा जानकारी गराएका थिए । यस विद्यालयले गत जेठमा कार्यालय सहयोगीलाई समेत विनाकारण हटाउने निर्णय गरेको थियो । विद्यालयले प्रकृया मिचेर परिचरलाई निस्कासन गरेको भेटिएपछि गल्ती सच्याउन निर्देशन दिईसकिएको स्रोत व्यक्ति उपाध्यायले बताए।
यता विद्यालयका प्रअ पृथबहादुर थापाले भने दशैँ तिहारको विदा हुने र एक महिनाको लागि निस्कासन गर्ने निर्णय भएपनि विदाको कारण एक साता मात्रै पढाई प्रभावित हुने भएकाले विद्यार्थीहरुलाई अभद्र व्यवहार सुधारको लागि सो निर्णय भएको दावि गरेका छन। उनले जनप्रतिनिधि, अभिभावक र व्यवस्थापन समितिको सहमतीमै विद्यालयमा तालाचापी लगाएर आन्दोलन गर्ने कक्षा १० का २२ विद्यार्थीहरुलाई एक महिनाको लागि निस्कासन गर्ने र यदि निस्कासन गरिएको विद्यार्थी विद्यालयमा आएमा कक्षाकोठामा बस्न पाएपनि हाजीर गर्न नदिने निर्णय भएको जानकारी दिए ।
किन भयो तालाबन्दि ?
यस विद्यालयमा गत जेठ महिनादेखि नै विज्ञान शिक्षकको अभाबमा सो बिषयको पठनपाठन रोकिएको छ । कम्प्युटर बिषयका तत्कालिन शिक्षक रीम पाईजाले विद्यालय व्यवस्थापन समितिले तलब घटाएपछी असारदेखि अध्यापन गराउन छाडेका थिए। मासिक रु १५ हजारमा शिक्षण गर्दै आएका पाईजालाई विद्यालयले १० हजारमा अध्ययापन गराउन भनेपछि उनले पढाउन छाडेका थिए । सो पदमा विद्यालयले विज्ञापन मार्फत नयाँ शिक्षक राखेपनि उनले समेत बिचैमा छाडेपछि पठनपाठन अन्यौल हुँदै आएको छ । दुई बिषयको पठनपाठन लामो समयदेखि रोकिरहेको समयमा असोज १० गते २ जना शिक्षक आयोगको परिक्षा दिन गएका थिए भने प्रअ पोखरातीर गएका थिए । निमिक्त प्रअ समेत गाउँपालिकामा खाता खोल्ने कामले गएपछि विद्यालय शिक्षक विहिनकै अबस्थामा पुगेपछि विद्यार्थीहरुले आफुहरुको नियमित पठनपाठन गराउन दबाब दिन विद्यालयमा तालाबन्दि गरेका थिए । विद्यार्थीहरुले विद्यालयमा काम बिशेषले शिक्षकहरु नभएको सन्दर्भमा ताला बन्दी गरेको र अमर्यादीत शब्दहरु प्रयोग गरि गाली गलौज गरि अभद्र ब्यवहार र अराजकता मच्चाएकाले कारबाही गरिएको प्रअ थापाको दावी छ ।
यसरी गरियो निष्कासन
विद्यार्थीहरुले विद्यालयमा तालाबन्दि गरेपछि विद्यालयले छलफल नै नगरीकन तोडेको थियो । आईतवार वडा अध्यक्ष देउप्रसाद पुनको समेत उपस्थितीमा बसेको व्यवस्थापन समितिको बैठकले आन्दोलीत विद्यार्थीहरुलाई एक महिनासम्मको लागि निस्कासन गर्ने निर्णय गर्यो । बालबालिकाहरुलाई अध्ययन नै गर्न नदिने गरि विद्यालयले गरेको निर्णय लज्जासपद रहेको अभिभावकहरुको गुनासो छ । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा कक्षा ५ देखि १० सम्म कम्प्युटर बिषयको अध्यापन हुँदै आएको छ । यस विद्यालयमा २०० जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थीहरु विद्यालयको समस्या र वास्तविकतानै नबुझी एकोहोरो रुपमा प्रस्तुत भएकाले थप समस्या सिर्जना भएको प्रअ थापाको भनाई छ । ‘‘ शिक्षकको अभाबबारे हामीले निरन्तर पहल गरिरहेका थियौँ, तर विज्ञान बिषयको शिक्षक नै पाउन सकिएन र कम्युटर बिषयमा अनुभवी शिक्षक पाउँनै सकेका छैनौँ, विद्यार्थीहरु उग्र भएर तालाबन्दि गर्ने र विद्यालयको शैक्षिक वातावरण नै प्रभावित बनाउन उद्धत भएकाले उनीहरुलाई व्यवस्थापन समितिको बैठकले निष्कासन गरेको हो’’–प्रअ थापाले भने ।