म्याग्दी बहुमुखी क्याम्पसको स्व–मूल्याकंन रिपोट सार्वजनिक
- १५ आश्विन २०७५, सोमबार
- धिरन खत्री
- 2389 पटक पढिएको
म्याग्दी, १५ असोज । क्यूएए प्राप्तीका लागि म्याग्दी बहुमुखी क्याम्पसले तयार गरेको स्वमूल्याकंन रिपोट सार्वजनिक गरिएको छ । सोमबार क्याम्पस संचालन समितिका अध्यक्ष बालकृष्ण सुवेदीले संचालक समिति सदस्य र प्रध्यापकको उपस्थितमा तयार गरिएको स्वमूल्याकंन रिपोट सार्वजनिक गरेका हुन् । विश्व विद्यालय अनुदान आयोगको निर्देशनमा क्याम्पसमा भईरहेको गतिविधिहरुलाई समेटेर तयार पारिएको रिपोट क्याम्पस प्रमुख टिकाराम सापकोटाले वडा अध्यक्ष रामकृष्ण बराईली, संचालक समिति सदस्य र प्रध्यापकको उपस्थितमा प्रस्तुत गरेका थिए । आयोगको नियमसंग रहेर आठ ओटा समुहमा विभाजन गरि रिपोट तयार पारिएको छ, १२० ओटा प्रश्नहरुको उत्तरसहितको रिपोटलाई १०० पुर्णाङ्कमा जाचँ गरिने छ, आयोगको मूल्याकंनबाट ५० नम्बर लिएमा गुणस्तर सुनिश्चित प्रत्याभूति प्राप्त गरिने क्याम्पसका प्रध्यापक गोरखनाथ सुवेदीले जानकारी दिए ।
४५ रोपनीमा रहेको क्याम्पसको स्थापना कालदेखि हालसम्मको पृष्ठभुमि, भौतिक संरचनाको अवस्था, विद्यार्थीहरुको संख्या, अध्ययापन गराउदै आएको विषय, प्रध्यापक संख्या, आम्दानीको स्रोत, रोजगारीका लागि उत्पादन भएका दक्ष जनशक्ति र सभ्य समाज निर्माणमा क्याम्पसको भुमिका लगायतको बारेमा समेटेर रिपोट तयार पारिएको छ । पलस टु बाहेक माथिल्लो तहमा ६४१ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । क्याम्पसमा नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाई हुदै आएको छ ।
सार्वजनिक गरिएको रिपोटमा संचालन समिति र प्रध्यापकको छलफलबाट पारित गरि असोज २१ गतेभित्र विश्वविद्यालय अनुदान आयोगमा बुझाईने क्याम्पस प्रमुख सापकोटाले बताए ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l