अमर मावि चिमखोलामा नियमित पठनपाठनको माग गर्दै आन्दोलीत विद्यार्थीहरु निष्कासित
- १५ आश्विन २०७५, सोमबार
- कमल खत्री
- 5106 पटक पढिएको
म्याग्दी, १५ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयले कक्षा १० का २२ जना विद्यार्थीहरुलाई निष्कासन गरेको छ । बिषय अनुसारका शिक्षकहरुको व्यवस्था गरि नियमित पठनपाठन गराउन माग गर्दै आन्दोलनमा उत्रिएका कक्षा १० का विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिको आईतवार बसेको बैठकले एक महिनाको लागि निष्कासन गरेको हो ।
विद्यालयमा लामो समयदेखि विज्ञान र कम्युटर बिषयका शिक्षक नहुँदा आफ्नो नियमित पठनपाठन नै प्रभावित बनेपछि विद्यार्थीहरुले विद्यालयको ध्यानकर्षण गराउन असोज १० गते तालाबन्दि गरेका थिए । विद्यालयमा अभद्र व्यवहार प्रदर्शन गरेकाले कक्षा १० मा अध्ययनरत २५ जनामध्ये ३ जनालाई मात्रै नियमित अध्ययन गर्न सक्ने गरि अन्य २२ जनालाई एक महिनासम्म निष्कासन गर्ने निर्णय भएको विद्यालयका प्रअ पृथबहादुर थापाले जानकारी दिए । एसईई परिक्षा नजिकिँदै गरेको सन्दर्भमा विद्यालयले बिषयगत शिक्षकहरुको बन्दोबस्त गर्न आनाकानी गरेकाले आफुहरुले दबाबको लागी आन्दोलन गर्नुपरेको विद्यार्थीहरुको भनाई छ । ‘ मौखिक रुपमा पटक पटक नियमित पठनपाठन गराउन माग ग¥र्यौ तर कहिल्यै सुनुवाई भएन, विद्यालयमा कार्यरत शिक्षकलाई हटाउने र नयाँ शिक्षक नल्याउने कामहरु हुँन थालेपछि हामीले आन्दोलन गर्नुपरेको हो, कक्षा १० मा अध्ययरनत एक विद्यार्थीले भने ।
विद्यार्थीहरुले लगाएको ताला विद्यालयले छलफल नै नगरीकन तोडेर वडा अध्यक्ष देउप्रसाद पुनको समेत उपस्थितीमा बसेको बैठकले आन्दोलीत विद्यार्थीहरुलाई एक महिनासम्मको लागि निस्कासन गर्ने निर्णण गरेको थियो । विद्यालयको निर्णयले एसईईको तयारीमा जुटेका विद्यार्थीहरु अध्ययनको लागि बिचल्लीमा परेको विद्यालयका पूर्व शिक्षक समेत रहेका स्थानीय अभिभावक रिम पाईजाले भने । ‘‘छलफलको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा विद्यार्थीहरु निलम्बन गर्नु विद्यालयको गैरजिम्मेवार हो, बिषयगत रुपमा शिक्षकहरुको बन्दोबस्त गर्नु विद्यालयको कर्तव्य हो, अध्ययन गर्न पाउनु बालबालीकाको अधिकार हो, यसबारे सरोकारवालाको ध्यान जानुपर्छ’’–पाईजाले भने ।
विद्यार्थीहरु विद्यालयको समस्या र वास्तविकतानै नबुझी एकोहोरो रुपमा प्रस्तुत भएकाले थप समस्या सिर्जना भएको प्रअ थापाको भनाई छ । ‘‘ शिक्षकको अभाबबारे हामीले निरन्तर पहल गरिरहेका थियौँ, तर विज्ञान बिषयको शिक्षक नै पाउन सकिएन र कम्युटर बिषयमा अनुभवी शिक्षक पाउँनै सकेका छैनौँ, विद्यार्थीहरु उग्र भएर तालाबन्दि गर्ने र विद्यालयको शैक्षिक वातावरण नै प्रभावित बनाउन उद्धत भएकाले उनीहरुलाई व्यवस्थापन समितिको बैठकले निष्कासन गरेको हो’’–प्रअ थापाले भने ।
यस विद्यालयमा गत जेठ महिनादेखि नै विज्ञान शिक्षकको अभाबमा सो बिषयको पठनपाठन रोकिएको छ । कम्प्युटर बिषयका तत्कालिन शिक्षक रीम पाईजाले विद्यालय व्यवस्थापन समितिले तलब घटाएपछी असारदेखि अध्यापन गराउन छाडेका थिए। सो पदमा विद्यालयले विज्ञापन मार्फत नयाँ शिक्षक राखेपनि अनुभवी र क्षमतावान नभएकाले विद्यार्थीहरुले नयाँ शिक्षकले कम्युटर शिक्षा पठाउन नसकेको गुनासो गरेपछि अहिले सो बिषयको पठनपाठन हुन सकिरहेको छैन् । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा २०० जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयले विद्यार्थीहरु निष्कासन गरेको सुचना पाएपछि आफुले रघुगंगा गाउँपालिका कार्यालयलाई मौखिक रुपमा जानकारी गराएको स्रोत व्यक्ति बालकृष्ण उपाध्यायले जानकारी दिए । ‘‘ गत जेठमा विद्यालयले प्रकृया मिचेर परिचरलाई निस्कासन गरेको थियो, अनुगमनको क्रममा मैले प्रकृया नपुगीकन कर्मचारी हटाएको पाएपछि गल्ती सच्याउन भनेको थिएँ, अहिले विद्यार्थीहरु निष्कासीत भएको खवर आएको छ, यसबारे गाउँपालिकासंग समन्वय गरि बास्तविकता बुझ्छु’’– स्रोत व्यक्ति उपाध्यायले भने ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l
बिद्यालय ब्यबस्थापन समितिलाई बालबालिकाको नैसर्गिक अधिकार माथी खेलवाड गर्ने अधिकार कति छ?
त्यो खत्तम विद्यालय हो ।मलाई पनि २०४९ साल असार २५ गते म्याद नथप्ने निर्णय गरेको पत्र हुलाक मार्फत घरमा पठाएका थिए ।