४२ मेगावाटको मिस्त्रीखोला निर्माणमा स्थानीयको अवरोध

  • १४ आश्विन २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2023 पटक पढिएको

बेनी १४ असाेज ।  म्याग्दीको नारच्याङमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण स्थानीयबासीको अवरोधका कारण शनिबारदेखि ठप्प भएको छ ।

रोबस्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा आयोजना निर्माण कार्य बन्द गराएका हुन् ।

क्लबका सदस्य अमित पुनले आयोजनासँग वार्ता र लिखित सहमति नहुँदासम्मका लागि काम रोकिएको जानकारी दिए । नारच्याङ बेसीगाउँको सिरानमा रहेको डाडाँपारिमा सुरुङको आउटलेटबाट निस्किएको पानी व्यवस्थापन नगरिँदा पहिरो गएर ७ घरधुरीको खेतीयोग्य जमिन पुरीएको पुनले बताए ।

‘पाइपमार्फत् पानीको सुरक्षित व्यवस्थापन, पहिरो नियन्त्रण र जग्गा तथा वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयको मागलाई आयोजनाले बेवास्ता गरेकाले बाध्य भएर काम बन्द गराएका हौं’, पुनले भने

स्थानीयबासीको माग सम्बोधन गराउन पहल गरेपनि आयोजनाका प्रतिनिधिले बेवास्ता गरेकाले समस्या भएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । आयोजनाका प्रतिनिधि चूडामणि निरौँला र परामर्शदाता कम्पनीका इन्जिनियर दिवाकर खड्कालाई मोबाइलमा सम्पर्क गर्दा फोन उठाएनन् ।

आयोजनाको सुरुङ निर्माणका क्रममा खानेपानीका मुहान सुकेको स्थानीयबासीको अर्को गुनासो छ । पानी निस्किएपछि आयोजनाको सुरुङ निर्माणसमेत प्रभावित बनेको छ । सन् २०१६ को जुन १३ देखि निर्माण सुरु भएको आयोजनाको बाँध, सुरुङ, विद्युतगृह, पेनस्टक पाइप जडानको काम ६० प्रतिशतभन्दा बढी सकिएको जनाइएको छ ।

नारच्याङको नीलगिरि र घलेम्दी खोलाको दोभानमा बाँध, २ हजार २८८ मिटर सुरुङ, एक हजार ५०० मिटर पेनस्टक पाइप र बेसीगाउँस्थित कालीगण्डकीको बाया किनारमा विद्युतगृह निर्माणाधीन अवस्थामा छ ।

नारच्याङ बेसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तिन वटा बेलिब्रिज निर्माण गरेको छ । आयोजनाको पाँच अरब ६४ करोड रुपैया लागत अनुमान गरिएको छ ।

सन्तोष गौतम