घारमा सामुदायीक भवन
- ११ आश्विन २०७५, बिहीबार
- 2213 पटक पढिएको
बेनी ११ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारका बासिन्दाले सरकारी निकायले उपलब्ध गराएको अनुदान भन्दा बढी रकम स्थानीय स्रोतबाट जुटाएर सामुदायीक भवन निर्माण गरेका छन् ।घारको भगवती मन्दिर परिसरमा १४ लाख रुपैयाको लागतमा सभाहल सहितको तिन कोठे दुई तले सामुदायीक भवन निर्माण गरेका हुन् । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा छ लाख रुपैया बिनियोज गरेको भवन निर्माण योजनामा स्थानीय स्तरबाट थप आठ लाख रुपैया जुटाएर खर्च गरिएको उपभोक्ता समितिका अध्यक्ष टिकाबहादुर खड्काले बताए ।
भवन निर्माणका लागि कोत मन्दिर पुजा ब्यवस्थापन समितिले दुई लाख, घार समाज जापानबाट एक लाख २२ हजार, वन उपभोक्ता उपसमितिले दुई लाख पचास हजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट पचास हजार र जनजागृती आमा समूहले एक लाख रुपैया सहयोग गरेका छन् ।भुई तलामा करिब डेढ सय जना क्षमत्ताको सभाहल रहेको भवनको पहिलो तलामा पुजारी निवास र आमा समूहको कार्यालयका लागि दुई वटा कोठा बनाइएको छ । सामुदायीक भवन निर्माण भएपछि तालीम, गोष्ठि, बैठक सञ्चालन गर्न खुल्ला चौर, व्यक्तिका घर, विद्यालयमा पुग्नुपर्ने समस्याको अन्त्य भएको वडा सदस्य रामबहादुर खड्काले बताए ।
वि.स २०१८ मा निर्माण भएको भवन २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । तत्कालीन अवस्थामा सो भवनमा गाउँ पञ्चायतको कार्यालय सञ्चालन गरिएको थियो । भवन परिसरमा एक लाख ७५ हजार रुपैयाको लागतमा महिला र पुरुषका लागि छुट्टा, छुट्टै शौचालय निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।घारको कोत मन्दिरमा बडा दशैको समयमा बिशेष मेला लाग्ने गर्छ । नवरात्रीको पुजाआजा र नवमीका दिन बलि चढाउने चलन रहेको छ ।