कालीपुलमा यात्रु सहायता कक्ष स्थापना
- १० आश्विन २०७५, बुधबार
- 2691 पटक पढिएको
बेनी १० असोज । बेनी नगरपालिका ८ कालीपुलमा बुधबार प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसै, तिहारको समयमा आवत जावत गर्ने सर्वसाधारण, मुस्ताङ जाने आउने तिर्थयात्री तथा पर्यटक र यातायात ब्यवसायीको सहयोगका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरिएको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी दिए ।
कक्षको प्रजिअ लिलाधर अधिकारीले उद्घाटन गरेका हुन् । कक्षमा नियमित रुपमा प्रहरी परिचालन गरेर यात्रुलाई पर्ने समस्या समाधानका लागि सहजिकरण गरीने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले बताए । दसै तिहारको समयमा लामो तथा छोटो दुरीमा सञ्चालन हुने सवारी साधन नपाएर यात्रु अलपत्र पर्ने, ब्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल गर्ने, क्षमत्ता भन्दा बढी यात्रु बोक्ने जस्ता समस्या हुने गर्छ । मुस्ताङ जाने आउने तिर्थयात्री र पर्यटकहरुले बास नपाउने समस्या समाधानका लागि पनी होटल ब्यवसायी संघसंग समन्वय गर्ने प्रहरीले जनाएको छ ।
यसैबीच मंगलबार राती रघुगंगा गाउँपालिका ६ पाखापानीमा रोकी राखेका तिन वटा जिप तोडफोड भएको छ । रातीको समयमा जिप तोडफोड गरेर त्यहाँ राखिएका सामान फालीएको अवस्थामा भेटिएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । घटनामा संलग्न भएको आशंकामा पाखापानी प्रहरीले छ जनालाई पक्राउ गरि बेनी ल्याएको छ ।