रितुङ माविमा अस्थाई टहरा निर्माण
- ४ आश्विन २०७५, बिहीबार
- 2412 पटक पढिएको
बेनी ४ असोज । रघुगंगा नदीमा आएको बाढीले कटान गरेर भवन बगाएको रघुगंगा गाउँपालिका ८ दुलेखर्क स्थित रितुङ माविमा अस्थाई टहरा निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थीहरुले श्रमदान गरेर अस्थाई टहरा निर्माण गरेका हुन् । जंगलको काठ र त्रिपालको प्रयोग गरेर चार वटा अस्थाई कक्षाकोठा निर्माण गरिएको विद्यार्थी नेता प्रकाश पौडेलले जानकारी दिए ।
बेनीबाट पौडेलको नेतृत्वमा गएका १५ जना विद्यार्थी, स्थानीयबासी र युवा कल्वका पदाधीकारीहरुले बुधबार संबिधान दिवसको अवसरमा श्रमदान गरेर अस्थाई कक्षा कोठा भवन निर्माण गरेका हुन् ।भदौ २७ गते रघुगंगा नदीमा आएको बाढीले रितुङ माविको तिन वटा भवनको सात वटा कक्षा कोठा र शौचालय बगाएको थियो । भवन बगाएपछि दुई हप्ताका लागि बन्द भएको पठनपाठन सूचारु गराउन अस्थाई टहरा निर्माण गरिएको हो । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा १७५ जना विद्यार्थी अध्ययनरत छन् ।
यसैबीच बाढी र पहिरो प्रभावीत दुलेखर्क, खरिबोट, घ्याँसीखर्क, दुवाडी क्षेत्रको स्थलगत अनुगमन र स्थानीयबासीहरुको समस्याको बारेमा जानकारी लिन प्रदेश सांसद बिनोद केसीको टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ । सांसद केसी, जिसस प्रमुख देवेन्द्र केसी, वडा अध्यक्ष गमान छन्त्यालको टाली जिल्ला विपद् ब्यवस्थापन समितिको राहत सहित कुईनेमंगलतर्फ गएको हो ।