राहुघाटमा अवरुद्ध सडक खुल्यो

  • ४ आश्विन २०७५, बिहीबार
  • 1791 पटक पढिएको

बेनी ४ असोज । बेनी–जोमसोम सडकको म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट खण्डमा अवरुद्ध सडक बुधबार साझँदेखि सञ्चालनमा आएको छ । जिल्लाविपद् ब्यवस्थापन समितिको पहलमा बेनी–जोमसोम–कोरला सडक आयोजनाले रघुगंगाले कटान गरेर सडक बगाएको ठाउँमा खोलालाई डाईभर्सन र पहाड काटेर सवारी आवतजावत गर्न मिल्ने बनाएको हो ।

भदौ २७गते रघुगंगा नदीमाआएको बाढीले करिब तिस मिटर सडक कटान गरेर बगाएपछि राहुघाट खण्डमा सडक अवरुद्ध हुँदा सिधा सवारी आवतजावत बन्द भएको थियो । मर्मतपछि बेनी देखि काभ्रेभिरसम्मको खण्डमा सवारी साधन सञ्चालन हुन थालेका आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

काभ्रेभिरमा अवरुद्ध सडक खुलाउनभने नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरिने भएको छ । सडक पूर्ण रुपमा सञ्चालन गर्न अझै एक, दुई दिनलाग्ने आयोजना प्रमुख सुवेदीले बताए । मुस्ताङ खण्डमा भएको अवरुद्ध सडक समेत मर्मत गरिएको छ ।

बाढीले लेते खोलाको बेलिब्रिजको जगलाई जोखिमयुक्त बनाएपछि डाईभर्सन गराइएको छ । ७६ किलोमिटर दुरीको बेनीजोमसोम सडक अवरुद्ध हुँदा स्थानीयबासी, पर्यटक र तिर्थयात्रीसमस्यामा परेका छन् । मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समस्यामा परेको छ ।