होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको नयाँ नेतृत्व

  • ३० भाद्र २०७५, शनिबार
  • 2547 पटक पढिएको

बेनी ३० भदौ । म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ को शनिबार बेनीमा भएको नवौ साधारणसभा तथा चौथो अधिवेशनबाट तारानाथ आचार्य (बाबुराम)को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।समितिको उपाध्यक्षमा अनु पुन, सचिवमा सरोज थापा, कोषाध्यक्षमा सागर बरुवाल, सहसचिवमा सबिता शाही र सह–कोषाध्क्षमा अनुषा गौचन चयन हुनुभएको छ । सदस्यहरुमा राजनलामा, अमृत सापकोटा, कुमार केसी, गोपालपुन, रामकुमारी गौचन, मायापुन र निवर्तमान अध्यक्ष गोपाल पौडेल रहनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै संघकी संस्थापक अध्यक्ष बिमला गौचनले म्याग्दीको होटल तथा रेष्टुरेन्ट ब्यवसायको प्रर्वद्धनका लागि नयाँ पर्यटकीय गन्तब्यको विकास, ब्यवसायी बिचको एकता र सक्रियताका साथै बेनी–जोमसोम र बेनी पोखरा सडकमा यातायात सेवालाई ब्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो ।गोपाल पौडेलको अध्यक्षता, सरोज थापाको सञ्चालन र बाबुराम आचार्यको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले पर्यटनको प्रमुख आधार होटल ब्यवसायलाई स्तरीय, विबिधीकरण, मर्यादीत र ब्यवस्थित बनाउन सुझाव दिनुभयो ।

म्याग्दी सदरमुकाम बेनीमा दैनिक एक हजार जना सम्म बास बस्न सक्ने साना तथा ठूला होटल रहेका छन् । पुराना होटलले क्षमत्ता विस्तार र नयाँ होटल थपिने क्रममा बढेपछि सडकको जिर्ण अवस्था तथा नयाँ गन्तब्यको विकास नहुँदा बेनीका होटल मौसमी बनेका छन् । यसैगरी बिदेश पलायन हुने र दक्ष जनशक्ति नपाउने समस्या पनी रहेको छ ।