म्याग्देली शिक्षक थममायाँ पुन देशकै उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत
- २१ भाद्र २०७५, बिहीबार
- 2952 पटक पढिएको
म्याग्दी, २१ भदौ । म्याग्देली शिक्षक थममायाँ पुन देशभरमै उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत हुनुभएको छ । पी.पी प्रसाई प्रतिष्ठानले हरेक वर्ष वितरण गर्ने मुलुकभरबाट उत्कृष्ट शिक्षक पुरस्कारबाट पुन पुरस्कृत हुनुभएको हो । म्याग्दीको पाउद्धार माविमा अध्यापनरत शिक्षक पुनले पी.पी प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार–२०७५ हात पार्नुभएको हो ।
प्रतिष्ठानले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने शिक्षकको रुपमा छनौट गरि पुनलाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार नगद रु ५० हजार सहित सम्मानपत्रद्धारा पुरस्कृत गरेको हो ।
प्रतिष्ठानले हरेक वर्ष प्रत्येक विकास क्षेत्रका उत्कृष्ट शिक्षकलाई प्रदान गरिने ‘उत्कृष्ट शिक्षक पुरस्कार– २०७५’ यो वर्ष प्रदेश नं १ बाट आर्दश मावि झापाकी गिता ओझा, प्रदेश नं २ बाट श्री जनता मावि सोनमती गाढा–३ सिरहाका विरेन्द्र कुमार सिंह, प्रदेश नं ३ बाट तिलिङ्गाटार मावि धापासी काठमाडौंका प्रअ सरोज कुमार पाण्डे लाई प्रदान गरिएको छ ।
यसैगरी, प्रदेश नं ४ बाट भवानी माध्यामिक विद्यालय गोरखाका बलराम भण्डारी, प्रदेश नं ५ बाट धम्बोझी मावि बाँकेकी किरण पौडेल अचार्य, प्रदेश नं ६ बाट श्री आदर्श माध्यामिक विद्यालय, जुफाल डोल्पाका पुर्ण बहादुर डांगी र प्रदेश नं ७ बाट श्री देवास्थल माविका के आइ सिंह फलेडी, डोटीका रघुनाथ पाठकलाई प्रदान गरिएको छ ।
पर्यटन व्यवसायी प्रभाकर शमशेर राणालाई पीपी प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०१८ द्वारा सम्मानित गरिएको छ । सात प्रदेशमा एक÷एक जनालाई उत्कृष्ट शिक्षक पुरस्कार सहित २५ हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ । साथै २०७४ सालदेखि विजयी शिक्षकका सबै विद्यालयका उत्कृष्ट, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विशेष छात्रवृत्ति पनि प्रदान गर्न सुरु गरिएको छ ।
देशभरबाट आवेदन माग गरेर शिक्षकहरुको पढाउने शैली, बाल मनोविज्ञान, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाइ, शिक्षा प्रति उनीहरुको प्रतिवद्धता, सिर्जजनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध र स्थानीय अभिभावक तथा समुदायको सिफारिसलगायतका आधारमा शिक्षा विशेषज्ञ, पूर्व शिक्षक, पूर्व प्रशासकलगायको सिफारिस र मूल्यांकनको आधारमा पुरस्कृत शिक्षकहरुको छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।
पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पीपी प्रसाई प्रतिष्ठानको स्थापना गरिएको हो । प्रसाईंको विसं २०५६ भदौ २० मा हवाई दुर्घटनामा परी निधन भएको थियो ।
एजुकेसनपाटी डटकमको सहयोगमा