साउदीमा म्याग्दीका दुई जना सहित ५ जना अल्पत्र

  • २१ भाद्र २०७५, बिहीबार
  • कमल खत्री
  • 3704 पटक पढिएको


बेनी, २१ भदौ । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका २ जना सहित ५ जना युवाहरु अल्पत्र परेका छन् । २ बर्ष अघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदविर घर्ति सहित सिन्धुपाल्चोकका २ र बर्दीयाका १ जना युवाहरु कम्पनीको दुव्र्यवहारको कारण अल्पत्र परेका हुन् ।
अजीब अल हाजिरी कम्पनीमा ड्राईभिङ भिसामा त्यहाँ पुगेर काम गर्दै आएपनि आफुहरुसंगै कार्यरत साथिलाई कुटपिट गरेको र त्यसो नगर्न आग्रह गर्दा आफुहरुलाई समेत दुव्र्यवहार भएको अल्पत्र परेका भकिम्लीका छन्त्यालले टेलिफोनमा बताए ।

कान्तिपुर मेनपावर कम्पनी मार्फत २ बर्षे अबधिको लागि भनेर त्यहाँ पुगेका उनीहरुलाई कम्पनीले ३ बर्ष पुरा नभएसम्म घर फिर्ता हुन नदिने धम्की दिने गरेको ती युवाहरुको भनाई छ ।
आफुहरुलाई कुटपिट गरि साथमा रहेको मोवाईल र पर्स समेत खोसेर कम्पनीबाट निकाला गरेपछि आफुहरु अहिले समस्यामा परेको छन्त्यालले बताउनुभयो । ‘‘हामीलाई यहाँ अल्पत्र परेका छौँ, कम्पनीले निकालेपछि हामी एक दिन सडकमै वितायौँ, अहिले कहाँ बस्ने र खाने त्यो पनी ठेगान छैन,’’–अर्का पिडित मल्कबाङका घर्तिले भने ।

आफुहरुको पासपोर्ट , लाईसेन्स लगायतका सबै कागजपत्र समेत कम्पनीले नै राखेको र नेपाल फिर्ता हुनबाट रोक्ने, कडा परिश्रम गर्न लगाउने, शारिरीक यातना नै दिने गरेपछि दुताबास र श्रम अदालत धाउँदा समेत आफुहरु घर फर्कने वातावरण नबसेपछि थप समस्यामा परेको उनीहरुको गुनासो छ । उनीहरुले आफुहरु नेपाल फर्कन चाहेको बताउँदी सबै सरोकारवालाहरुलाई आफुहरुलाई घर फिर्ताको लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l