निस्कोटमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान

  • १८ भाद्र २०७५, सोमबार
  • सन्ताेष गाैतम
  • 4259 पटक पढिएको

म्याग्दी १८ भदौ । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा जनप्रतिनिधिहरुको अगुवाईमा सामाजिक विकृती, चोरी शिकारी र तस्करी नियन्त्रण अभियान थालीएको छ । वडा कार्यालयको आयोजनामा भएको गाउँका सरोकारवालाहरुको बृहत भेलाले वन र बन्यजन्तुको संरक्षण, चोरी शिकारी, तस्करी, जुवातास, मदिरा र लागु औषध दुब्र्यसन नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।

राष्ट्रिय वनमा जथाभावी जंगल फडानी र काठ तस्करीको समस्या बढेकाले ढलेका बाहेक रुख काट्न नपाउने निर्णय गरिएको वडा अध्यक्ष टंकप्रसाद पुनले जानकारी दिनुभयो । यसैगरी आगामी दुई वर्ष सम्मका लागि जंगली जनावर र पंक्षिको चोरी शिकारीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय भएको छ । घरेलु हतियार र पासो थापेर मृग, रतुवा, काजीज जस्ता पंक्षिको अबैध शिकार गर्नेलाई पक्राउ गरी प्रहरी र वन कार्यालयमा कारबाहीका लागि बुझाउने वडा अध्यक्ष पुनले बताउनुभयो । सामाजिक विकृतीको मुख्य कारण मदिराको अब्यवस्थित र जभावाभी प्रयोग, लागु औषध दुब्र्यसनी तथा जुवातास नियन्त्रण गर्ने निर्णय भएको छ ।

किरीया घरमा मर्दाको पहिलो दिन र तिहारको तिन दिन बाहेक अन्य समय जुवातास खेल्नेलाई पक्राउ गरी नयाँ ऐन अनुसार कारबाहीका लागि प्रहरीमा बुझाइने भएको छ । छिमेकी ताराखोला गाउँपालिका र मालीका गाउँपालीकाको रुममा उत्पादन भएको चरेस, गाँजा जस्ता लागु औषध निस्कोटको बाटो भएर ओसार पसार गर्दै आएको पाइएको छ ।

लागु औषध ओसार पोसार र युवाहरु दुब्र्यसनीमा फसेकाले त्यस्ता गतिबिधीमा संलग्नलाई पक्राउ गरी प्रहरीलाई बुझाउने निर्णय भएको वडा अध्यक्ष पुनले बताउनुभयो । बलात्कार, कुटपिट, घरेलु हिंसा जस्ता सामाजिक अपराधको प्रमुख कारण मदिरा सेवनलाई समेत व्यवस्थित बनाउन पहल थालीएको छ । बेलुकी ५ देखि ८ बजेसम्म आफ्नै घरमा मात्र मदिरा सेवन गर्न दिने र मदिरा सेवन गरेर होहल्ला तथा विकृतीजन्य गतिबिधि गर्नेलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ । वडाका सबै बस्तीमा रहेका आमा समूह, युवा कल्व, सामुदायीक वन उपभोक्ता समूह, राजनितिक दल लगायत सबै सरोकारवालाहरुको बृहत आमभेलाले गरेको निर्णय भदौ महिनादेखिनै लागु गरिएको गाउँ कार्यपालिकाका प्रवत्ता समेत रहनुभएका पुनले बताउनुभयो ।

सन्ताेष गाैतम