वैदेशीक राेजगारीमा जान लागेका म्याग्देली काठमाण्डाैमा यसरी ठगीए

  • ६ भाद्र २०७५, बुधबार
  • 24996 पटक पढिएको

 

काठमाडौं –‘हामीलाई नक्कली भिसा र नक्कली टिकट देखाएर ठगियो । फोन गरेर म्यानपावरवालालाई बोलाइदिनुस् न सर !’ वैदेशिक रोजगार विभागका निर्देशक उद्धवप्रसाद रिजालको कार्यकक्षमा एकसाथ छिरेका ९ जनामध्ये एक युवकले आग्रह गरे । उनीहरूसँगै विभागको अनुसन्धान तथा उजुरी शाखाका अधिकृत रञ्जनप्रसाद तिमल्सिना पनि फाइल बोकेर उपस्थित थिए । तिमल्सिनाले निर्देशक रिजाललाई ती युवाको समस्याबारे जानकारी गराए । साथै उनले आफ्नो फोन म्यानपावरवालाले नउठाएको जानकारी पनि दिए ।

निर्देशकले नै पहल गरे समस्या समाधान हुन्छ कि भन्ने आशामा देखिएका एक युवकले आग्रह गरे – ‘छिटो फोन गरेर कुरा गर्नुस् न सर । म्यानपावरले के भन्छ, हामी पनि सुन्छौं ।’ अर्का युवकले थपे– त्यसलाई तुरुन्त पक्राउ गर्नुपर्‍यो । त्यसक्रममा केहीबेर छलफल भयो ।  छलफलपछि निर्देशक रिजालले आश्वासन दिए– ‘म्यानपावर कम्पनी छलफलमा आए छलफल गर्छौं, नत्र कारवाही प्रक्रिया अघि बढ्छ ।’ निर्देशकको आश्वासनपश्चात उनीहरू बाहिरिए ।

यसरी ठगियो

म्याग्दीको एउटै गाउँका ७ जना युवा दुबई जानका लागि घरबाट बिदा भएर काठमाडौं आए । काठमाडौं आएपछि विदेश पठाइदिने भनेर पैसा बुझाएको भेरी एन्ड कर्णाली इन्टरनेसनल प्रा.लि. नामक म्यानपावर कम्पनी सञ्चालिका कल्पना रावललाई भेटे । दुईतीन दिनमा नै उडान छ भनेर बोलाएकी कम्पनी सञ्चालिका रावलले उनीहरूलाई हवाइ टिकट देखाउँदै फ्लाइट सरेको भनेर फर्काइन् ।

रावलले उनीहरूलाई दुबई प्रहरीमा जागिरका लागि भिसा लागिसकेको भन्दै पासपोर्ट पनि देखाइन् । हवाइ टिकट र भिसा लागेको पासपोर्ट देखेपछि उनीहरूलाई रावलको कुरामा विश्वास लाग्ने नै भयो । त्यो दिन चुपचाप फर्किए । दुबईमा मासिक १ लाख नेपाली रूपैयाँ कमाइ हुने भन्दै उनीहरूबाट प्रतिव्यक्ति ५ लाख लिइएको थियो । तर पटक-पटक फ्लाइट सरेको भनेपछि उनीहरूलाई शंका लाग्यो । त्यसपछि श्रम मन्त्रालयमा बुझ्न गए ।

‘म्यानपावरले दिनदिनै फर्काउन थालेपछि श्रम मन्त्रालयमा बुझ्दा दुबईमा प्रहरीका लागि कुनै भिसा नै लागेको रहेनछ,’ पीडित चन्द्रबहादुर छन्त्यालले  भने ।  आफूहरू ठगिएको थाहा पाएपछि उनीहरूले पैसा फिर्ता मागे । त्यसपछि त म्यानपावर सञ्चालिका रावल सम्पर्कमै आउन छाडिन् । आफ्नो पैसा फसेपछि गत शुक्रवार उनीहरू विभागमा उजुरी दिन पुगेका थिए ।

आफ्नो उजुरीउपर के कारवाही भइरहेको छ भन्ने बुझ्न सोमवार पनि उनीहरू विभागमा आएका रहेछन् । ‘दुबईमा मासिक १ लाख कमाइ हुन्छ भनेर पुसदेखि ८ महिनासम्म झुलायो । न दुबई पठायो न पैसा फिर्ता गर्छ,’ पीडितले लोकान्तरसँग भने, ‘हामीलाई ठगी गर्नेलाई कारवाही गरी क्षतिपूर्ति पाउँ भनेर अहिले यहाँ उजुरी दिएका छौं ।’ घरबाट बिदा भएर आइसकेका उनीहरू अहिले काठमाडौंमा भौँतारिँदै छन् ।

अमेरिका पठाउने भन्दै ठगी

भेरी कर्णाली म्यानपावरले दुबई मात्र होइन अमेरिका पठाउने भन्दै पनि ठगी गरेको छ । म्याग्दीका दलबहादुर छन्त्याल र अर्का एक जना यसरी ठगीमा परेका हुन् । कूल २६ लाख बुझाए अमेरिका पठाइदिने भनेकी रावललाई उनीहरूले एड्भान्स स्वरूप ५ लाख बुझाएका थिए । एक लाख रूपैयाँ हातैमा र चार लाख रूपैयाँ आईएमईमार्फत् बुझाएको पीडित छन्त्यालले बताए । ‘हामी बुढाबुढीलाई नै अमेरिका पठाउने भनेपछि मैले एक लाख रुपैयाँ क्यास बुझाएँ । म्यानपावरवालाले कृष्ण श्रेष्ठको नाममा चार लाख आईएमई गरिदिनु भन्यो, त्यो पनि पठाएँ,’ छन्त्यालले लोकान्तरसँग भने, ‘पछि तपाईंको काम भएन दाइ भन्यो । पैसा फिर्ता माग्दा भोलि–भोलि भनेको ८ महिना बितिसक्यो ।’ मलेसिया, न्युजिल्यान्डलगायतका देश घुमेर फर्किएका छन्त्याल न अमेरिका जान पाए, न पैसा नै फिर्ता भयो । अहिले वैदेशिक रोजगार विभागको चक्कर काट्दैछन् ।

८५ वटा उजुरी

भेरी एण्ड कर्णाली इन्टरनेसनल प्रा.लि. नामक सो म्यानपावर कम्पनीविरुद्ध विभागमा कूल ८५ वटा उजुरी परेको छ । यी उजुरी वि.सं. २०७० यताका हुन् । यसवर्ष मात्रै ६ वटा उजुरी विभागमा दर्ता भइसकेको छ । विभागबाट फोन गर्दा पनि सम्पर्कमा नआएपछि गत जेठ २३ गते देखि उक्त कम्पनीको कारोवारमा विभागले रोक लगाएको छ ।

अदालतको स्टेअर्डर !

ठगीका उजुरी परेपछि विभागले पीडितलाई उक्त म्यानपावरको धरौटी रकमबाट क्षतिपूर्ति दिलाउने निर्णय गर्‍यो । सो निर्णयविरुद्ध म्यानपावर कम्पनीले उच्च अदालत पाटनमा रिट दायर गर्‍यो । म्यानपावरवालाको रिटमा अदालतले स्टेअर्डर जारी गरेपछि पीडितहरू क्षतिपूर्ति पाउनबाट बञ्चित भएका छन् । ‘हामीले धरौटी रकमबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेका थियौं । तर त्यसमा अदालतले स्टेअर्डर जारी गरेपछि पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन्,’ निर्देशक रिजालले भने, ‘७ जना युवाले फेरि अर्को उजुरी दिनुभएको छ । हामीले म्यानपावरवालाई फोन गर्दा उठाएको छैन ।’ निर्देशक रिजालले म्यानपावर कम्पनी सम्पर्कमा आए छलफल गराउने र नआएमा अन्य प्रक्रियाबाट कारवाही अगाडि बढाउने बताए ।

साभारः lokaantar.com