बागलुङकाे निसीखोलामा पहिराेमा सासु बुहारी बेपत्ता

  • ३० श्रावण २०७५, बुधबार
  • थम्मन थापा
  • 2436 पटक पढिएको

बागलुङ साउन ३० । गएराती परेको अविरल वर्षा पछि खसेको पहिरोले बागलुङको निसीखोला गाउपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी ६५ वर्षिया श्रीमती (धन )दिलकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही सम्पर्क विहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिएको जानकारी अनुसार ५ वर्षिय बिनोद शाही भने उछिट्टिएर बाँच्न सफल भएका छन् । घटना स्थलमा प्रहरी र स्थानीयहरुबाट उद्धार कार्य भैरहेको र बिहूँ घोँडाबाधेबाट नेपाली सेना अर्जुनबाण गणको २५ जनाको टोली उद्धारका लागि त्यसतर्फ गईसकेको पनि प्रजिअ खरेलले जानकारी दिए ।

मान बहादुर शाही गोठ गएको हुँदा उनीसंग सम्पर्क स्थापित गर्ने प्रयास भैरहेको जानकारी दिँदै प्रजिअ खरेलले अहिले प्रहरी सहितको उद्धार टोलीले निजकी श्रीमती धनकुमारी र बुहारी डल्लीको खोजीमा लागेको बताए । निजहरु पहिरोमा पुरिएको हुन सक्ने आशंका गरिएको छ । यसैवीच प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको ठाडो खोल्सा तथा बतासे खोलामा गए राति भलबाढी आउँदा बुर्तिबाङ बजारको सिमसार टोलका स्थानियलाई भागभाग बनाएको छ । हिजो साँझबाट परेको अविरल बर्षासंगै राती करिव ११ बजेको समयमा बतासे खोलामा बाढी आउन सुरु गरेपछि सिमसार टोलका बासिन्दा भागाभाग भएका हुन ।

बाढी आउन सुरु गरेको केहि समयमा नै प्राथमिक स्वास्थ्य केन्द्र नजिकै तथा सिमसार टोलमा रहेको हामी तिन भाई फर्निचर उद्योगमा बाढी भल पसेपछि स्थानिय उक्त बाढी नियन्त्रण कार्यमा जुटेका थिए । बाढीले कुनै मानवीय क्षती भने गरेको छैन । तर हामी तिनभाई फर्निचर उद्योग, सोही फर्निचर उद्योग संचालक बस्ने एक तले टिनको घर र ट्वाईलेटमा आंशिक क्षती पु¥याएको छ । यस्तै उत्तरगंगा माध्यमिक विद्यालय र घमसिन टोलका बासिन्दा आवजावत गर्ने बाटो बाढीले खोलेर ठुलो खोल्सो बनाएको छ ।

फर्निचर सहित तलका बस्तीहरुमा थप क्षती हुन नदिन स्थानीयवासी तत्काल बाढी नियन्त्रण तथा ब्यवस्थापनमा जुटेका थिए । स्थानिय बासिन्दा रातभर जागाराम बसेर कुटो, कोदाले, गैची बेल्चा लिएर बाढीले बगाएर ल्याएका ढुंगा, गग्रेटा, माटो पन्छ्याउने कार्यमा लागेका थिए ।स्थानिय मिलन विश्वकर्माका अनुसार “तत्काल स्थानिय बासिन्दा भलबाढी नियन्त्रणमा नजुटेको भए, तिनभाई फर्निचर उद्योगबाट पसेको भलबाढीले तलका बस्तिहरुमा ठुलो क्षती पु¥याउने थियो । यस्तो आपत विपतको समयमा सबै एकजुट भएर संभावित जोखिम न्युनिकरण र विपत्त ब्यवस्थापनमा जुट्न आवश्यक रहेको उनको भनाई छ । उक्त खोल्सामा यसरी पटक–पटक आइरहने भलबाढीले सिमसार टोलका स्थानियलाई सास्ती बेहोर्नु परेको त छ नै, त्यहाँका बस्ती नै बाढीको उच्च जाखिममा रहेको छ ।

गत साउन १ गते राती आएको बाढीका कारण उक्त टोलका ४४ घरपरिवार प्रभावित भएका थिए । जस मध्य ६ घरपरिवार पुर्णरुपमा विस्थापित हुनुपरेको थियो । गएराती परेको मुसलधारे पानीले मध्यपहाडी लोकमार्गको बुर्तिवाङ देखी निसी बोहोरागाउ, भल्कोट हुँदै रुकुम खण्ड अवरुद्ध बनेको छ । साना ठुला कुनैपनि सवारी साधन चलेका छैनन् । त्यस्तै गएराति देखी आएको अबिरल वर्षाले निसीखोला गाउपालिका २ तल्लो बाँग्रेमा नरबहादुर घर्तीको दुईतल्ले घर भत्काएको छ भने काँल्ने चौर यमबहादुर कुँवरको दुईतला भएको घर भत्काएको छ । अबिरल वर्षाकै कारण भूजी खोलामा आएको बाढीले भूजीखोला लघु जलविद्युत आयोजनाको कुलो मुहान देखी ७ किलो मिटर तलसम्म बगाएको छ । भीषण वर्षाकै कारण बुर्तिवाङ नजिकै खल्तुबोट र भीङगिठेको सिस्नेरीमा पहिरो गएर यातायात सडक अबरुद्ध बनेको छ ।

थम्मन थापा