‘उमेरले छेकेन विद्यार्थी बन्न’ : आमाहरुको पढ्ने धोको पुरा हुँदै

  • २५ श्रावण २०७५, शुक्रबार
  • धिरन खत्री
  • 3321 पटक पढिएको

धिरन खत्री, शिशिर/म्याग्दी २५ साउन । ५३ बर्षिय दिलमया पुनको दैनिकी हिजोआज फेरिएको छ । घरायसी काममा दैनिकी बिताउने गरेकी बेनी नगरपालिका–८ क्याम्पसचोक बस्ने पुन अहिले विद्यार्थी बनेकी छन् । बेनपा–३ डोले स्थायी घर भएकी पुन गत बैशाख देखि कक्षा १ मा भर्ना भएर औपचारीक अध्ययनमा लागेकी हुन् । सानो छँदा स्कुल जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो बैकल्पिक विद्यालयले पुरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका आमाहरुको लागि यतिबेला यो विद्यालय बाल्यकालदेखिको साक्षर बन्ने सपना पुरा गर्ने थलो बनेको छ । कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेकी पुनले अक्षर अंक समेत नचिन्दा दैनिकी असहज तवरले विताइरहेको सन्दर्भमा विद्यालयमा पढ्न थालेपछि विस्तारै अंक र अक्षरहरु समेत पढ्न सक्ने हुन थालेको बताईन । ‘‘सानो हुदाँ विद्यालय कस्तो हुन्छ र शिक्षा केहो बुझिएन्, घाँस र दाँउरा गर्दागर्दै विवाह भयो बालबच्चा भए, आफुले नपढेपनि उनीहरुलाई पढ भनेर गालि गरियो, यो उमेरमा बल्न मेरो पढ्ने थोको पुरा भयो’’– उनले भनिन् ।


यस विद्यालयमा अहिले ७५ जना आमाहरुले अध्ययन गरिरहेका छन् । घाँस, दाउरा र भान्सामा सिमिति महिलाहरु सानोँ छँदा विविध कारणले अध्ययनबाट बञ्चित भएपनि यतिबेला कापि र कलम बोकेर विद्यालय पुग्न थालेका छन् । पढ्ने इच्छाशक्ति हुँदाहुँदै पनि अवसर नपाएका उनीहरु शिक्षा लिनलाई उमेरले भन्दा इच्छा शक्तिले जित्दो रहेछ भन्ने भनाईलाई पच्छाइरहेका छन् । उज्यालो बैकल्पिक विद्यालय स्थापनादेखि नै पढाई सुरु गरेकी रघुगंगा गाउँपालिका– ७ चिमखोला घर भई २०५३ सालदेखि सरुवा भएर सदरमुकाम बेनीको कालिपुलमा बस्दै आएकी ५५ बर्षिय भुनु तिलीजाले पढ्न सुरु गरेपछि आफ्नो जिवनमा धेरै परिवर्तनको अनुभुती गरेको बताईन ।

आमा समुह, विभिन्न संघ संस्था, उपभोक्ता समिति लगायतमा क्रियाशिल रहेकी तिलिजाले सानो छँदा अध्ययन गर्न नपाएर काम गर्न असहज हुने गरेको अवस्थामा बैकल्पिक विद्यालय खुलेसंगै आफुहरु जस्तै निरक्षरहरु साक्षर बन्ने अवसर पाएको बताउछिन् । ‘‘सानो छँदा विद्यालय नगईकन घरमा बा–आमालाई घाँस दाउरा र भान्सामा काम गरेर खुशि बनाइयो, विभिन्न संघ संस्थामा लागेपछि बल्न ठक्कर लाग्यो , अनी हामीहरु जस्तै निरक्षरहरुले पढ्ने विद्यालयको छलफल चलायौँ, विद्यालय पनि खुल्यो अहिले ८ कक्षामा पढ्दै छु, यो उमेरमा आएर पढ्ने रहर पुरा हुँदा खुसीका सिमाहरु नहुँदो रहेछ’’– उनले भनिन् ।


२०७२ सालमा प्रौढ महिलाहरुलाई लक्षित गरि बेनीमा सञ्चालन गरिएको यस विद्यालयमा अहिले सानो छँदा बाध्यता र बिबशताले पढ्ने रहर अधुरै भएका आमाहरु अध्ययनको लागि आउने गरेका छन् । विद्यालयमा अध्ययन गर्ने अधिकाँश महिलाहरु विहान घरको काम भ्याएर बच्चाहरुलाई स्कुल पठाएर ११ बजे स्कुलमा हाजीर हुन्छन् । दिउँसोको समयलाई अध्ययनमा उपयोग गरेका उनीहरुमध्ये कतिपय दुधे बालबच्चालाई खाकैमा च्यापेर समेत विद्यालयमा आउँछन् । कक्षा ३ मा पढीरहेकी बेनी निवासी ५६ बर्षिय हेमकुमारी रेग्मीले बुढेसकालमा आफुहरुका नातीनातीनाका दौतरीहरुले पढाउँने र आफुहरुले पढ्न पाउँदा बाल्यकालका रहरहरु पुरा हुँदै गएको अनुभुती सुनाईन। नियमित रुपमा विद्यालयमा आउने र शिक्षकहरुले दिएको गृहकार्य गर्दै जाँदा लेख्न पढ्न तर्फ प्रेरणा बढ्दै गएको आमाहरु बताउछन् ।


कक्षा १, ३, ५, ७ , ८ कक्षाको पठनपाठन हुने यस विद्यालयमा अधिकाँश विद्यार्थी ४० बर्ष देखि ६० बर्ष उमेरका छन् । कक्षा एकमा ५ जना, ३ मा ११ जना ५ मा २२ जना, ७ मा २१ र ८ मा १५ जना विद्यार्थी आमाहरु छन् । आमाहरु नियमित रुपमा विद्यालयमा आउने र दिएको गृहकार्य समेत गरेर आउने हुँदा उनीहरुको शिकाई उपलब्धी पढ्दै गएको शिक्षक सञ्जय शर्माले बताईन ‘‘ आमाहरुलाई पढाउँदा शिक्षक भन्दा पनि छोराछोरीको जिम्मेबारी पुरा गरेजस्तो हुँदो रहेछ, उनीहरुको लगनशिलता र मेहनतले पढाईमा उमेर भन्दा पनि इच्छाशक्ति ठुलो रहेछ भन्ने महशुस गरेको छु,’’– उनले भने ।


आफ्नो दैनिकीलाई घरायसी काम र घास दाउँरा गर्नमै विताएर शिक्षा के हो ? भनेर थाहा नपाएका आमाहरु विद्यालयमा आएर अगे्रजी र नेपालीमा लेख्न पढ्न समेत थालेपछि उनीहरुको जिवनको परिभाषा फेरिएको छ । समाजमा पढ्ने धोको अधुरै रहेका महिलाहरुलाई साक्षर बनाउनको लागि सञ्चालन गरिएको यस विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई पढाउन ६ जना शिक्षक कार्यरत छन् ।

शिक्षकको तलव, घरभाडा लगायतको खर्च जिल्ला शिक्षा समन्वय ईकाई र विभिन्न संघसस्थाको सहयोगले जुटाँदै आईएको विद्यालयका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए । ‘‘हामीले जे उदेश्य राखेर विद्यालय सञ्चालन गरेका हौँ, त्यो आज सार्थक हुँदै गएको छ, तर अध्ययन गर्न आउनेहरुलाई सरल र सहज रुपमा पूर्वाधार तयार गरि सुविधा दिन भने सकिरहेका छैनौँ, पूर्ण भौतीक पूर्वाधारको व्यवस्थापन गरि गुणस्तर शिक्षा दिने हाम्रो कोसीस जारी छ,’’– अध्यक्ष केसीले भने ।

तत्कालिन जिल्ला शिक्षा कार्यालयले यस विद्यालय सञ्चालनको लागि रु ३ लाख बजेट उपलब्ध गराएको थियो । अहिले बेनी नगरपालिका– ७ र ८ नम्बर वडाले यहाँको खर्च व्यवस्थापनमा सहयोग गर्दै आएपनि अपुग खर्चलाई व्यवस्थापन समिति र विभिन्न संघ संस्था तथा सहयोगदाताहरुको सहयोगबाट जुटाउने गरिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l