स्वास्थ्य शिवीरबाट एघार सय लाभान्वित

  • ९ असार २०७५, शनिबार
  • 2980 पटक पढिएको

सन्तोष गौतम

बेनी ९ असार । समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालीत निशूल्क स्वास्थ्य परिक्षण तथा बिशेषक्ष शिवीरबाट एक हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।


मालीका गाउँपालीकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिवीरबाट एक हजार १०० जनाले सेवा लिएका आयोजकले जनाएका छन् । दरवाङमा ३९५, पोखरेबगरमा ४०० र बेनीमा ३०० जनाले सेवा लिएका कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिनुभयो । स्त्रीरोग बिशेषज्ञ डाक्टर सरीता गुरुङ, बालरोग बिशेषज्ञ डा नवराज सुवेदी र जनरल डाक्टर रुपेश श्रेष्ठ सहित स्थानीय स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताउनुभयो । दुर्गम ग्रामिण क्षेत्रका सर्वसाधारणलाई स्थानीय स्तरमा सहज र सर्भसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर सञ्चालन गरिएको उहाँको भनाई छ । तिन वटै शिवीरको महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको थियो । सो क्रममा मन्त्री थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन सरकारले “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

अप्ठ्यारोमा परेका दुर्गम, बिकट क्षेत्रका गरिब, विपन्न सुत्केरी, गर्भवती र नवजात शिशूलाई हेलीकप्टरबाट उद्दार गरेर तत्कालै अस्पताल पु¥याउन एयर एम्बुलेन्स सञ्चालन गर्न आगामी आर्थिक वर्ष पाँच करोड बजेट बिनियोजन भएको बताउनुभयो । भौगोलिक बिकटता र नजिकै स्वास्थ्य संस्था नभएका कारणले गर्भवती, सुत्केरी अवस्थामा ज्यान गुमाउनुपर्ने समस्या न्युनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो ।

मन्त्रि थापाले महिलाहरुको स्वास्थ्य, शिक्षा, आयआर्जन र रोजगारीमा पहुँच बृद्धी गरी जिवनस्तर सुधार, आर्थिक रुपान्तरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधी, अगुवा र नेकपाका नेता, कार्यकर्ताहरुसंग भेटघाट गरेर विकास निर्माण, स्थानीय तहका गतिबिधि, समस्या र सहकार्य गर्न सकिने विषयमा छलफल गर्नुभएको थियो । तिन दिने गृहजिल्लाको बसाई सरेर मन्त्री थापाको टोली शनिबार काठमाडौ फर्कीएको छ ।