गाउँका पत्रकार ‘ दल प्रसाद तिलिजा’

  • ५ असार २०७५, मंगलवार
  • 3860 पटक पढिएको

म्याग्दी, ५ असार । नाम दल प्रसाद तिलिजा मगर । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भएका तिलिजा उमेरले ४७ बर्ष पुगे । पेशाको रुपमा कृषिलाई अंगालेका तिलिजाको काम भने सुचना प्रवाह गर्नु हो । कुनैपनी सञ्चार माध्ययममा प्रत्येक्ष नजोडिएपनि तिलिजाले गाउँघरमा हुने घटना एवम् सन्देशहरुलाई सामाजिक सञ्जालको माध्ययम मार्फत देश तथा विदेशमा पु¥याउने काम गर्दै आएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत तिलिजाले दैनिक रुपमा गाउँमा हुने हरेक खालका घटना एवम जानकारीहरुलाई गाउँदेखि टाढा रहेका गाउँबासीहरुलाई पु¥याउने काम गरेका छन् ।

खासगरि प्रवासमा रहेका बेगखोलाबासीहरुलाई हरेक छिन छिनको सुचना प्रवाह गर्ने गरेका तिलिजालाई अहिले ‘गाउँका पत्रकार’ को रुपमा चिनिन्छ । मोवाईलमा डाटा लिएर तिलिजाले दैनिक रुपमा गाउँका हरेक गतिविधिलाई फेसबुकमा तस्बिर र भिडियो सहितको सन्देश दिने गर्छन् । ‘ कतिपय सन्देशहरुलाई तस्बिर सहित राख्ने गर्छु, अधिकाँश त भिडियो लाइभ नै गरेर गाउँका सबैखाले सुचनाहरुलाई गाउँबाट बाहिर रहेका महानुभावहरु समक्ष पु¥याउने गरेको छु,’’– तिलिजाले भने । सञ्चार क्षेत्रप्रति उनको चाहना पहिलेदेखि नै थियो । पहिले रेडियोहरुमा समेत चिठ्ठी पत्र लेख्ने गरेका तिलिजाले गाउँका सन्देशहरुलाई विदेशमा रहेका बेगखोलाबासी समक्ष पु¥याउन आफ्नो व्यक्तिगत खर्चमै यसरी गाउँका सन्देशहरुलाई निरन्तर जसो प्रवाह गर्दै आएका छन् । बेगखोलाका अधिकाँश घरधुरीबाट रोजगारि लगायतको शिललिसामा प्रवासमा छन् । उनीहरुको लागि गाउँको हरेक जानकारी लिनको लागि तिलिजा भरपर्दो माध्ययम बनेका छन् ।

‘‘ भ्याएसम्म गाउँका सबै जसो जानकारीलाई सामाजिक सञ्जाल मार्फत प्रशारण गर्ने गरेको छु, मासिक ६ हजारदेखि १० हजार सम्म पनि खर्च गरेको छु, गाउँघरका जानकारीलाई सामाजिक सञ्जालबाट देश विदेशमा पु¥याउँदा आनन्द महशुस हुन्छ’– तिलिजाले भने । घरायसी काम बाट बचेको सबै समय तिलिजाले गाउँका गतिविधिलाई संकलन र प्रशारणमा खर्चिने गरेका छन् । ९ बर्ष सम्म साउदीमा समय विताएका तिलिजा कतार पुगेको १ महिनामै दलालले फसाएपछि फर्किएका थिए । अहिले गाउँमै खेतीकिसान गरि जिविका चलाउँदै आएका उनले आफ्नो व्यक्तिगत फेसबुकसंगै ‘बेगखोला समाचार’ नामको फेसबुक पेज मार्फत स्थानीय स्तरमा हुने घटना एवम विविध जानकारीहरुलाई फोटो र भिडियो सहितको जानकारीमुलक सन्देशलाई प्रवाह गर्ने गरेका छन् ।

????????????????????????????????????

उनले आर्थिक अभाबमा रहेका विरामीहरुको बारेमा फेसबुकमा राखेका सन्देशहरुले कतिपय विरामीहरुको उपचार खर्च समेत जुट्ने गरेको छ । उनले फेसबुकमा राख्ने गाउँका जानकारीमुलक सुचनाले प्रवासमा रहेका बेगखोलाबासीलाई आफ्नो गाउँ ठाउँमा हुने हरेक गतिविधिको जानकारी लिन सहज भएको बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले बताउनुभयो । बेगखोला कल्याणकारी समाज युके र हङकङले हालै बेगखोलामा आयोजित एक समारोहमा गाउँका पत्रकारको भुमिकामा रहेका तिलिजालाई नगद सहित सम्मान समेत गरेका थिए । तिलिजामा चित्रकला सम्बन्धि समेत ज्ञान र क्षमता रहेको छ ।