थप आठ विद्यालयमा विद्युतीय पुस्तकालय जडान

  • २१ बैशाख २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 3803 पटक पढिएको


म्याग्दी, २१ बैशाख । प्रवासीहरुको अगुवाईमा म्याग्दीका थप आठ विद्यालयमा आधुनिक प्रबिधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो ।

तेस्रो चरणमा किसानी मावि बिम, राष्ट्रिय मावि नेप्टेचौर, जनप्रिय आधारभुत विद्यालय बरञ्जा, महेन्द्ररत्न आधारभुत विद्यालय बरञ्जा, हिमाञ्चल मावि नागी, बिष्णु राष्ट्रिय आधारभुत विद्यालय किमचौर, बेनी सामुदायीक मावि र सरस्वती मावि सिंगामा विद्युतीय पुस्तकालय जडान गरिएको मोनाले जनाएको छ । यसअघि पहिलो चरणमा दश र दोस्रो चरणमा १५ विद्यालयमा विद्युतीय पुस्तकालय जडान गरिएको थियो ।

मोनाका अध्यक्ष चक्र थापाका अनुसार रोजगारी, अध्ययन, ब्यापार, व्यवसायको शिलशिलामा बिदेशीएका म्याग्देलीहरुले सामाजिक सञ्जाल ‘फेसबुक’बाट अभियान चलाएर विद्युतीय पुस्तकालय स्थापनाका लागि आर्थिक स्रोत जुटाइएको हो ।

ग्रामिण क्षेत्रमा आधुनीक सूचना प्रबिधीको पहुँच र सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पु¥याउने उद्देश्यले गत वर्षदेखि नेपाल लाईब्रेरी फाउण्डेशन र गैरआवासीय नेपाली संघ (एनआरएनए)संग सहकार्य गरेर विद्युतीय पुस्तकालय अभियान सञ्चालन गरिएको थियो ।

मोनाले म्याग्दीका सबै २३२ वटा सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेको छ । एउटा विद्युतीय पुस्तकालयको सफ्टवयर जडान गर्न ७५ हजार रुपैयाको हाराहारीमा बजेट खर्च हुने गरेको छ । ईन्टरनेटको प्रयोगबिनै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रब्य सामाग्री सुन्न सकिने सुबिधा रहेको छ ।

विद्युतीय पुस्तकालयमा ईन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण लगायत विषयसंग सम्बन्धित सन्देशमुलक श्रब्य, दृष्य सामाग्री हेर्न र सुन्ने सुबिधा छ ।

पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न बिधाका पुस्तक रहेको सफट्वेयर जडान गरिएको छ । पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालय तथा संस्थाले कम्प्युटर लगायत पुर्वाधार, मोनाले सफ्टवयर खरिदमा आर्थिक सहयोग र फाउण्डेशनले प्राबिधिक सहयोग गरेका छन् ।

सन्तोष गौतम