घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य यस्तो छ ! (फोटो फिचर)
- २४ चैत्र २०७४, शनिबार
- कमल खत्री
- 3059 पटक पढिएको
म्याग्दी, २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दी आईड्रोपावर प्रा.लिद्धारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करिब ३ किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतीको काम संगै निर्माण पूर्वका तयारीलाई तिब्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताउनुभयो ।
आयोजनाको मुख्य कामको रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यको लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भैसकेको छ । ‘‘ सडकबाट प्रभावितहरु अधिकाँशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रकृया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरि काम थाल्छौँ’’–उहाँले भन्नुभयो ।
आगामी तीन बर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस आयोजनामा २ अर्ब ४१ करोड रुपैयाँ लगानी अनुमान गरिएको आयोजनाका इनजीनियर जोसेफलाल बज्रचार्यले जानकारी दिए । आयोजनाको परामर्शदाता कम्पनीको रुपमा रहेको हाईड्रो कन्सल्ट इन्जिनियरिङ र सिभिल ठेकेदारको रुपमा रहेको साउथ एशियन इन्फास्टक्चरका टिम कार्यक्षत्रमा परिचालन भैसकेको आयोजनाले जनाएको छ । यस आयोजनाले वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको आधारमा स्थानीय स्तरमा सामाजीक क्षेत्रमा समेत सहयोग गर्ने जनाएको छ ।
यस आयोजनाको गत फागुन पहिलो साता औपचारीक रुपमा शिलन्यास गरिएको थियो । यस आयोजनाबाट उत्पादन हुने विद्युतलाई दानामा निर्माण हुने सब स्टेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिन आयोजनाले जनाएको छ । यसैबिच जलबिद्युत आयोजनाको सुरुङ खन्दा खानेपानीका मुहान सुक्न सक्ने भन्दै स्थानीय स्तरबाट आवाज उठेपछि खानेपानीको मुहानको अबस्थाबारे अध्ययन गरिएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l