म्याग्दीको पश्चिमी क्षेत्रलाई समेटेर एफ.एम सञ्चालन गरीने
- २४ चैत्र २०७४, शनिबार
- 2561 पटक पढिएको
म्याग्दी २४ चैत । म्याग्दीको पश्चिमी क्षेत्रलाई लक्षित गरेर एफ.एम रेडियो सञ्चालन गर्ने विषयमा शनिबार सो क्षेत्रका जनप्रतिनिधिहरुबीच छलफल भएको छ । मंगला गाउँपालिका २ सिमलचौर स्थित केडी कटेजमा धौलागिरि, मालिका र मंगला गाउँपालीकाका अध्यक्ष तथा उपाध्यक्षहरुको बैठकले एफ.एम रेडियो स्थापना र सञ्चालनको विषयमा सम्भाव्यत्ता अध्ययन गर्न एक समिति गठन गरेको छ ।
बैठकमा तिन वटै गाउँपालीकाका अध्यक्ष त्रय थमसरा पुन, श्रीप्रसाद रोका, सतप्रसाद रोका, उपाध्यक्षहरु रेशम छन्त्याल, खरमाया बिटालु र सिर्जना केसी तथा सञ्चारकर्मी समेत रहनुभएका युवा उद्यमी अशोक पौडेलको उपस्थिती रहेको थियो । बैठकले जिल्ला सदरमुकाम, प्रदेश र संघीय स्तरका सञ्चारमाध्यमको पहुँचदेखि टाढा रहेको पश्चिमी क्षेत्रमा दुरदराजका बस्तीमा सूचना, सन्देश र सामाजिक जागरणका लागि एफ एम रेडियोको आवश्यक भएको ठहर गरेको छ ।
सूचना, समाचार र सन्देशमुलक कार्यक्रम मार्फत स्थानीय तहको गतिबिधिलाई प्रभावकारी बनाउने, सामाजिक जागरण ल्याउने र सूचना, समाचारमा दुर्गम क्षेत्रका बासिन्दाको सहज पहुँच स्थापित गराउन एफ.एम रेडियोको आवश्यकता महशुस गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । सम्भाव्यता अध्ययनका लागि धौलागिरिका अध्यक्ष पुन, मालीका र मंगलाका अध्यक्ष रोकाद्धयको साथै सन्तोष गौतम, अशोक पौडेल, साधन राम्जाली र अमित विश्वकर्मा रहेको समिती गठन भएको छ ।
बैठकले सम्भाव्यता अध्ययनको संयोजन र प्रतिवेदन तयार पार्ने जिम्मेवारी पौडेललाई दिएको छ । कस्तो प्रकृतीको रेडियो कसरी र कहाँबाट सञ्चालन गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा समितिले अध्ययन गरेर प्रतिवेदन तयार पार्ने जनाइएको छ ।