सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षीत गछौ– मन्त्री पुन
- २० चैत्र २०७४, मंगलवार
- सन्तोष गौतम
- 2235 पटक पढिएको
बेनी, २० चैत । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनु भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार गृहजिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाहरुको प्रजनन् र सहज रुपमा आमा बन्न पाउने अधिकारलाई सुरक्षित बनाउन नितीगत पहल गर्ने बताउनुभयो ।
प्राबिधिक र ब्यवसायीक शिक्षालाई प्राथमिकता दिने बताउँदै मन्त्री पुनले शिक्षकलाई तलब खुवाउन चन्दा उठाउनुपर्ने अवस्थाको अन्त्य गर्न पहल गर्ने बताउनुभयो । म्याग्दीको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने मन्त्री पुनले प्रतिवद्धता जनाउनुभयो ।
आयआर्जनमुलक कार्यक्रम तथा योजनामा जोड दिदै मन्त्री पुनले प्रदेशको नियम, ऐन, कानुनलाई जनमैत्री बनाउने बताउनुभयो । प्रदेशको निती बनाउन विज्ञहरुसंग लगातार छलपलमा जुटिरहेको बताउदै मन्त्री पुनले चैत २५ गते निती तथा कार्यक्रम प्रस्तुत हुने र २९ गते पुरुक बजेट ल्याउने तयारी भएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले विज्ञको सुझाव र प्रदेशको बस्तुअवस्थाको अध्ययन गरेर जनताको समस्या समाधान गर्न सकिने किसीमको निती नियम बनाउन मन्त्री पुनलाई सुझाव दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्र केसीले म्याग्दीले राजनितिमा मारेको फड्कोलाई आर्थिक, सामाजिक, भौतिक विकास र जनताको जिवनस्तर रुपान्तरणमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, उपसचिव देवबहादुर घलेको सञ्चालन र माओवादी केन्द्रको नगर कमिटि अध्यक्ष शेरबहादुर केसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य र अनेमसंघकी उपाध्यक्ष कोपीला बरुवालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।