सनराइज युथ क्लबको अगुवाईमा अक्षतामा करिब रु १२ लाखमा देवी मन्दिर र खेलकुद मैदान निर्माण

  • १० चैत्र २०७४, शनिबार
  • 3016 पटक पढिएको

म्याग्दी, १० चैत । म्याग्दीको रघुंगगा गाउँपालिका – ३ अक्षतामा युवाहरुको सक्रियतामा खेलकुद मैदान र देवि मन्दिर निर्माण गरिएको छ । सनराइज युथ क्लबको अगुवाईमा स्थानीय युवाहरुको पहलमा करिब रु १२ लाख लगानीमा देवी मन्दिर र खेलकुद मैदान निर्माण गरिएको छ ।सो मन्दिर तथा खेलमैदान निर्माणका लागि रु ४ लाख ६० हजार ४४९ रुपैया संकलन भएको थियो । युवाहरुको पहलमा गाउँका विभिन्न ब्यक्तिहरुबाट रु ३ लाख ८५ हजार १८३ रुपैया र अन्य क्षेत्रबाट ७५ हजार २६६ सहयोग जुटेको थियो ।

त्यसैगरि मन्दिर र खेलकुद मैदान निर्माणमा रु ४ लाख २५ हजार बराबरको जनश्रमदान समेत गरिएको क्लबका अध्यक्ष जगत भण्डारीले जानकारी दिनुभयो । क्लबका अनुसार, सो खेलमैदान सम्याउनको लागि डोजर खर्चमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले रु ३३ हजार बराबरको सहयोग गर्नुभएको छ । मन्दिर र खेलमैदान निर्माणमा रु ८ लाख ३ हजार लगानी चन्दा संकलन र श्रमदान मार्फत जुटाईएपनि अझै रु ३ लाख ४३ हजार ऋण रहेको क्लबले जनाएको छ ।


नवनिर्मित मन्दिरको उद्घाटन कार्यक्रमको अवसरमा शनिवार मात्रै रु ५० हजार थप सहयोग जुटेको छ । मन्दिर पुर्णरुपमा निर्माण कार्य सम्पन्न भएपनि खेलमैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ । शनिवार नवनिर्मित मन्दिरको उद्घाटन गर्दै प्रदेश सभा साँसद विनोद केसीले सामाजिक कार्यको लागि युवाहरुको सक्रियतामा आर्थिक संकलन गरि नमुना कार्य गरेको भन्दै सनराइज क्लबलाई बधाई ज्ञापन गर्नुभयो ।

युवाहरुको रचनात्मक भुमिकाले मात्रै समाज परिवर्तन र विकासको सपना सम्भव रहेको बताउँदै उहाँले विकास र समृद्धिको अभियानमा युवाहरुको भुमिकालाई अझ प्रभावकारी बनाउँदै स्वदेशमै युवाहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रम तथा निति निर्माणको लागि प्रदेश सरकार र संसद मार्फत आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो ।


कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले मन्दिर र खेलमैदान निर्माणमा युवाहरुले गरेको कार्य प्रसंनिय रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा नेकपा एमालेका सचिबालय सदस्य दिपक कार्कीले समेत युवाहरुले गरेको कार्यको प्रसंसा गर्नुभएको थियो । कार्यक्रमा प्रदेश सभा सदस्य विनोद केसीले रु ५ हजार , जिसस प्रमुख केसीले रु २ हजार र नेता कार्कीले रु २ हजार क्लबले थालेको खेलकुद मैदान निर्माण अभियानमा व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गर्नुभएको थियो ।


क्लबका अध्यक्ष जगत भण्डारीको अध्यक्षता, के ताराबहादुर भण्डारीको स्वागत र रामजी भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा आमा समुहका अध्यक्ष लक्ष्मी भण्डारी, क्लबको तर्फबाट दिपक भण्डारी, कार्यक्रम सम्पन्न भएको थियो ।