पुग्नैपर्ने ठाउँ ‘मनमोहक टिकोट गाउँ’ (फोटो कथा)

  • ७ चैत्र २०७४, बुधबार
  • कमल खत्री
  • 2714 पटक पढिएको

म्याग्दी ७ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ मा रहेको पर्यटकीय टिकोट गाउँ । पर्वत र म्याग्दीका पर्यटकीय स्थलहरुलाई समेटीएको अन्नपूर्ण धौलागिरी सामुदायीक पर्यावरणीय पदमार्गले समेटीएको टिकोट गाउँ सम्भावनायुक्त क्षेत्र हो । गुजुमुजुक्क तवरले परम्परागत ढुंगेघरहरु मिलेर बनेको टिकोट गाउँबाट देखिने मनोरम हिमशृङ्खलाले यहाँ पुग्ने पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।

धौलागिरी रेन्जका सबैजसो हिमशृङ्खलालाई एकैटाउँबाट अवलोकन गर्न पाईने यहाँको प्रमुख आकर्षण हो । वरिपरि जंगलले घेरिएको भएकाले यहाँ पुग्ने पर्यटकहरुको लागि यस सिजनमा राताम्मे फुल्ने लालिगुराँस थप आकर्षण रहेको छ । यहाँ भ्रमण गर्न आउने पर्यटकको सुबिधाका लागि टिकोटबासीले डायनिङ हलमा खाना खाने र घरघरमा सञ्चालन गरिएको होमस्टेमा बास बस्ने व्यवस्था गरेका छन् ।

यहाँ करिब सय घरधुरीको बसोबास रहेको छ । म्याग्दीको घुमाउनेतालबाट सुरु हुने अन्नपूर्ण धौलागिरि सामुदायीक पदमार्ग अन्र्तगत बासखर्क– डाँडाकटेरी, नागी, मोहरेडाँडा पुगेका पर्यटकहरु फुलवारी हुँदै टिकोट पुग्ने गर्छन् ।

टिकोट पुग्नको लागि बेनी–जोमसोम सडक खण्ड अन्र्तगत बैसरी र तिप्ल्याङबाट समेत सजिलैसंग पुग्न सकिन्छ । मगर समुदायको बाहुल्यता रहेको टिकोटका बासिन्दाले परम्परागत घरहरुमा पर्यटकका लागि कोठाको व्यवस्था गरेर होमस्टे सञ्चालन गरेका हुन् । मगर समुदायको बाहुल्यता रहेको टिकोट गाउँमा पर्यटकहरुको लागि पुख्यौली नृत्य थप आकर्षण रहेकाे  छ ।
तस्बिरः प्रदिप पुन टिकोट

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l