अन्तराष्ट्रिय फुटबलका दुई म्याग्देली खेलाडीलाई सम्मान
- ६ चैत्र २०७४, मंगलवार
- कमल खत्री
- 2436 पटक पढिएको
म्याग्दी, ६ चैत । १२ बर्ष मुनिका खेलाडीहरुबीच हुने अन्तराष्ट्रिय फुटवल प्रतियोगितामा सहभागिता जनाउन लागेका म्याग्देली २ खेलाडीलाई सम्मान गरिएको छ । जपानमा हुन लागेको अण्डर १२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीमा छनोट भएका बेनी नगरपालिका–७ का अनुपम श्रेष्ठ र बेनी नगरपालिका–८ का आदेश श्रेष्ठलाई मंगलबार बेनीमा सम्मान गरिएको हो ।
उक्त प्रतियोगितामा सहभागिता जनाउन जापान जानु अगाडि विदाई स्वरुप दुवै खेलाडीलाई बेनीमा जिल्ला खेलकुद विकास समिति, म्याग्दी फुटवल संघ र लोकत्रान्त्रिक खेलकुद संघ म्याग्दीले छुट्टाछुट्टै कार्यक्रम राखि सम्मान सहित विदाई गरेका हुन् । अण्डर १२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टोलीमा मुख्य स्टाईकर (सेन्टर फरवार्ड) मा छनौट भएका बेनी आवासीय माविमा अध्ययनरत अनुपम र गोल किपरमा छनौट भएका न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा अध्ययनरत आदेशलाई आ–आफ्नो विद्यालयमा समेत सम्मान गरिएको थियो ।
जिल्ला खेलकुद विकास समिति र म्याग्दी फुटवल संघले आयोजना गरेको कार्यक्रममा समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, संघका अध्यक्ष इपेन्द्र तिलिजा, समितिका कोषाध्यक्ष दिनेश केसी, अभिभावक अजयमिलन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ (दिपु), बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सचिब क्याप्टेन मिनबहादुर कार्की, बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, संघका उपाध्यक्ष विक्रम बोगटी र सचिब विनय श्रेष्ठ, अभिभावक अजयमिलन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसै चैत महिनाको दोस्रो साता जापानमा हुन लागेको उक्त प्रतियोगितामा छनौट भएका दुई म्याग्देली खेलाडी सहितको राष्ट्रिय टिम त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् । सो प्रतियोगीतामा नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अस्टे«लीया, दक्षिण कोरीया, जापन, चीन, ताइवान, घाना लगायतका देशका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l