ताकमको आन्दोलन स्थगित

  • २६ फाल्गुन २०७३, बिहीबार
  • सन्तोष गौतम
  • 1851 पटक पढिएको

बेनी २६ फागुन । प्रस्तावीत धौलागिरी गाउँपालीकाको केन्द्र ताकमलाई कायम गर्नुपर्ने माग राख्दै स्थानीयले गरेको आन्दोलन स्थगीत भएको छ ।

धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले गत बिहीबारदेखि ताकम क्षेत्रमा सडक, व्यवसाय, सरकारी कार्यालय ठप्प पारेर आन्दोलन गरेका थिए । ताकम भन्दा माथिका गाविसका बासिन्दालाई परेको समस्या र भविष्यमा पर्न सक्ने दुरगामी असरलाई मध्यनजर गरेर तत्काललाई आन्दोलन स्थगीत गरिएको संघर्ष समितिका संयोजक मनबहादुर भण्डारीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आन्दोलन स्थगीत भएपछि बिहीबार देखि दरवाङ ताकम मुना सडकमा सवारी सञ्चालन भएका छन भने जनजिवन सामान्य बनेको छ । बहुसंख्यक जनतालाई प्रशासनीक सुगमता, उपयुक्त भुगोल, आवश्यक पुर्वाधारका हिसाबले ताकमलाई गाउँपालीकाको केन्द्र बनाउनुपर्ने संघर्ष समितिको माग छ ।

स्थानीय तहको सिमाना, नामाङ्कन र सिमाङ्कनका लागि गठन भएको तत्कालीन जिल्ला प्राबिधिक सहयोग समितिले धौलागिरीको केन्द्र ताकम वा मुना मध्य एक ठाउँ बनाउन आयोगलाई सिफारीस गरेको थियो । ताकममा केन्द्र बनाउन दवाव दिनका लागि समितिले मल्कवाङ, मराङ गाविस र मुदीको ६, ७, ८ र ९ वडाका बासिन्दाका सहमतीमा आन्दोलनमा उत्रीएको थियो ।

रघुगंगा र धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले जिविसमा गरेको तालाबन्दी गत आईतबार प्रहरीले तोडेर कामकाज सूचारु गराएको थियो । सरकारले स्थानीय तहको पुनसंरचना सम्बन्धि सूचना राजपत्रमा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।

सन्तोष गौतम