डा. गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चद्धारा पक्राउ पूर्जी जारी

  • २४ पुष २०७४, सोमबार
  • 1651 पटक पढिएको

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै आदेशमा भनिएको छ, अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४/९/२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’

डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार आमरण अनसन सुरु गरेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र पराजुली माफियाको डन भएको बताएका थिए । अनसन सुरु गर्नु अघि भएको पत्रकार सम्मेलनमा डा. केसीले काठमाडौं नेशनल मेडिकल कलेजबारे गरेको आदेशलाई लिएर न्यायाधाश शाहीको पनि आलोचना गरेका थिए । लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अवहेलना मुद्दा हालेका थिए । न्यायाधीश शाहीकै इजलासले डा. केसीलाई पक्राउ गर्न आदेश दिएको छ । साथै निवेदनलाई फौजदारी दायरीमा दर्ता गर्न भनेको छ । source :www.onlinekhabar.com