रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती र पिप्ले साक्षर वडा घोषणा (फोटो फिचर)
- २० मंसिर २०७४, बुधबार
- 2220 पटक पढिएको
म्याग्दी, २० मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिकाका तीन वटा वडालाई साक्षर वडा घोषणा गरिएको छ । बुधवार रघुगंगा गाउँपालिका–१ बेगखोला, २ भगवती र ३ पिप्लेलाई साक्षर वडा घोषणा गरिएको हो । यो संगै रघुगंगा गाउँपालिकाका ५ वटा वडा साक्षर घोषणा भएका छन् । यस अघि वडा नम्बर ४ दग्नाम र वडा नम्बर ८ कुईनेमंगलेलाई साक्षर वडा घोषणा गरिसकिएको थियो ।
बुधवार मक्तिधाम माविमा आयोजित साक्षर वडा घोषणा सभालाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै केसीले म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने योजना अनुसार साक्षर वडा घोषणा गरिएको बताउँदै घोषणालाई व्यवहारमा उतार्न आबश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा निमिक्त जिल्ला शिक्षा अधिकारी विश्वप्रकाश रेग्मी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद चापागाई, मुक्तिधाम माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्ल, वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी, वडा नम्बर २ का वडा अध्यक्ष रिम बहादुर कटुवाल, रघुगंगा माविका प्रअ रमेशसिंह ठकुरी, राजनीतिक दलको तर्फबाट नेकपा एमालेका ध्रुव सुवेदी, नेकपा माओवादी केन्द्रका नरबहादुर भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता, मुक्तिधाम माविका प्रअ अमर बहादुर केसीको स्वागत र शिक्षक विष्णु रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्रोत व्यक्ति दुतबहादुर गर्वुजाले तीनवटै वडामा कुल जनसंख्यामध्ये १५ देखि ६० बर्ष उमेर समहुको जनसंख्याको ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुसार, जिल्ला शिक्षा कार्यालयको प्राप्त तथ्याङ्क र विद्यालय तथा वडा कार्यालयहरुले गरेको घरधुरी सर्वेक्षण अनुसार बेगखोलाको लक्षीत जनसंख्या १ हजार ७० मध्ये १ हजार ५८ जना अर्थात ९८ दशमलब ८७ प्रतिशत, भगवतीको २ हजार ७१ मध्ये १ हजार ९ सय ७८ अर्थात ९५ दशमलब ५० प्रतिशत र पिप्लेमा ३ हजार १८७ मध्ये ३ हजार ७८ अर्थात ९६ दशमलब ५७ प्रतिशत लक्षीत जनसंख्या साक्षर बनेको पाईएको छ ।
१५ देखि ६० बर्ष उमेर समुहको जनसंख्यामध्ये ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको पाइएमा ती वडा, स्थानीय तह तथा जिल्लालाई साक्षर घोषणा गर्न सकिने सरकारी नितीरहेको छ । गाउँपालिकाका वडा नम्बर ५ झिँ, वडा नम्बर ६ पाखापानी र वडा नम्बर ७ चिमखोलालाई यहि मंसिर २७ गते साक्षर वडा घोषणा गरि सिंगो गाउँपालिकालाई नै साक्षर घोषणा गर्ने तयारी गरिएको छ ।
साक्षर वडा घोषणा भएका ठाउँमा बाँकी निरक्षर जनसंख्यालाई समेत निरन्तर शिकाई कार्यक्रम मार्फत नवसाक्षरहरुको साक्षर सिपलाई दिगो बनाउँदै सवै वडालाई पूर्ण साक्षरतर्फ उन्मुख गराउने कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । म्याग्दीलाई आगामी माघ ८ गते बसन्त पञ्चमीको दिन साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको छ ।