रघुगंगामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु

  • ३ भाद्र २०८३, बुधबार
  • 3 पटक पढिएको

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षा तथा गर्भवती र सुत्केरी महिलाको पोषण प्रवद्र्धनलाई प्राथमिकता दिँदै ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ र ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सुरक्षा र सहज जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम तथा गर्भवती र सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्ने उद्देश्यले ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी पोषण प्रवद्र्धन’ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमको बुधवार गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले संयुक्त रूपमा शुभारम्भ गर्नुभयो । शुभारम्भ कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकको नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षणसमेत गरिएको थियो । ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले हरेक महिना ज्येष्ठ नागरिकको घर तथा टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्नेछन् । स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको सुगर, रक्तचापलगायत स्वास्थ्य अवस्था जाँच गरी आवश्यकताअनुसार औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्शसमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा घरदैलोमै औषधि र परामर्श सेवा उपलब्ध गराउने कार्यक्रम विगतका वर्षमा प्रभावकारी देखिएपछि यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सम्मानसँगै उनीहरूको स्वास्थ्य सुरक्षालाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।
यसैगरी, ‘उपाध्यक्षसँग गर्भवती तथा सुत्केरी पोषण प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई अण्डा वितरण गरी कार्यक्रमको सुरुआत गरिएको छ । गाउँपालिका उपाध्यक्ष पुनले गर्भवती महिलालाई अण्डा वितरण गर्दै कार्यक्रम शुभारम्भ गर्नुभएको हो । कार्यक्रमअन्तर्गत तोकिएअनुसार चार पटक स्वास्थ्य परीक्षण गराउने र स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माउने गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्रवद्र्धनका लागि पाँच क्यारेट अण्डा उपलब्ध गराइने उपाध्यक्ष पुनले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार गर्नुका साथै नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य संस्थामै पुगेर सुरक्षित प्रसूति गराउने बानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले चालु आर्थिक वर्षका स्वीकृत कार्यक्रमहरूको कार्यान्वयन सुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भौतिक पूर्वाधारतर्फका योजनाको सम्झौता प्रक्रियासँगै सामाजिक विकास, स्वास्थ्यलगायत क्षेत्रका कार्यक्रम पनि क्रमशः कार्यान्वयनमा ल्याइएको बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्रप्रसाद जयसवालले स्वागत गर्नुभएको कार्यक्रममा भगवती स्वास्थ्य चौकीका प्रमुख टीकाबहादुर शाहीले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका अधिकृत शिवप्रसाद पाण्डेले गर्नुभएको थियो ।