भवन पूर्वाधार निर्माणमा धवलागिरीको फड्को

  • ११ असार २०८३, बिहीबार
  • कमल खत्री
  • 3 पटक पढिएको

म्याग्दी, ११ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ । साविकको मुदा गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको यस गाउँपालिले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । वडा नम्बर ३ घट्टेखोलामा स्थानीयबासीहरुबाट १४ रोपनी जग्गा निशूल्क जग्गा प्राप्त भएपछि गाउँपालिकाले संघीय सरकारसंगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो ।


आर्थिक बर्ष २०७९÷०८० बाट निर्माण सुरु भएको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने तयारी गरिएको भवनको पूर्वाधार निर्माणमा करिब ९० प्रतिशत भौतिक प्रगति भएको छ । प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीसंघ रु सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता भएको यस योजनामा निर्माण सामाग्रीमा भएको मुल्य बृद्धि तथा संघीय सरकारले भुक्तानि गर्नुपर्ने दायित्वको रकम आउन ढिलाई हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको छ । निर्माण व्यवसायिलाई करिब रु तीन करोड भुक्तानि दिन बाँकी रहेपनि चालु आर्थिक बर्षको हालसम्म संघीय सरकारबाट जम्मा ६० लाख मात्रै बजेट आएको र थप बजेटको लागि निरन्तर पहल भइरहेको प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
‘‘अन्तिम पटक थप भएको समयसिमा भित्रै निर्माण कार्यलाई सम्पन्न गराउनका लागि निर्माण व्यवसायिलाई ताकेता गरेका छाँै, यो आर्थिक बर्षमा भवनको पूर्वाधार निर्माण सकिएमा आगामी आर्थिक बर्षको दशैँ अगाबै फर्निचर लगायतका पूर्वाधारको काम सकेर प्रशासकीय भवनबाटै सेवा प्रवाह सुचारु गराउने जमर्को गरेका छाँै’’– उहाँले भन्नुभयो । म्याग्दीका पाँच गाउँपालिका मध्ये प्रशासकीय भवन बनाउने पहिलो बनेको धवलागिरी गाउँपालिकाको तीन तले भवनमा २७ वटा कोठा, एक÷एक वटा सभाहल र बैठककक्ष हुने गरी पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताउनुभयो ।
गाउँपालिकाको प्रशासकीय भवन संगै वडा कार्यालय, स्वास्थ्य चौकी भवन, सामुदायिक भवनहरु निर्माणले समेत तिब्रता पाएको छ । यस गाउँपालिकाको वडा नम्बर ७ ताकममा पाँच श्यया क्षमताको आधारभूत अस्पताल निर्माणधिन अवस्थामा रहेको छ । गुर्जा, मल्कबाङ , मुना र मुदीमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ । लमसुङ र मराङमा यस अघि नै स्वास्थ्य चौकीको भवन निर्माण भएका थिए । वडा कार्यालयको सेवालाई व्यवस्थित र प्रभाबकारी बनाउनका लागि वडा कार्यालयको भवन निर्माणलाई समेत जोड दिईएको छ ।
वडा नम्बर २ लमसुङ, वडा नम्बर ४ मुदी, वडा नम्बर ६ मराङ र वडा नम्बर ७ ताकममा वडा कार्यालयको नयाँ भवन निर्माण भएको छ भने वडा नम्बर ५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउदेश्यीय सामुदायिक भवनबाट वडा कार्यालयको सेवा प्रवाह हुँदै आएको छ । विद्यालय र अन्य निकायको साँघुरो भवनहरुबाट सेवा प्रवाह गर्दै आएकोमा वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह गर्न सहज भएको धवलागिरी गाउँपालिका –४ मुदीका वडा अध्यक्ष यामबहादुर घर्तिले बताउनुभयो ।
गाउँपालिकाले गुर्जामा वडा कार्यालयको भवन बनाउने योजना बनाएको छ । धवलागिरी गाउँपालिकाले विद्यालय भवन, खेलमैदान, सामुदायिक स्वास्थ्य इकाई लगायतका पूर्वाधार निर्माणलाई समेत प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने गरेको छ ।

(धवलागिरी गाउँपालिकाकाे फलाेसिप लेखनका लागि तयार सामाग्री)

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l