ब्रेक फेल हुँदा स्कार्पियो दुर्घटना, पाँच जना घाइते

  • २५ जेष्ठ २०८३, सोमबार
  • 17 पटक पढिएको

म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ तितरस्थित बेनी–जोमसोम सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आइतबार दिउँसो करिब २ः४० बजे मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बा १९ च ५६०२ नम्बरको स्कार्पियो ओरालोमा अचानक ब्रेक फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनाका बेला स्कार्पियोमा चालकसहित आठ जना सवार रहेका थिए। दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ। घाइते हुनेमा काठमाडौं बानेश्वर निवासी ४१ वर्षीया रञ्जु श्रेष्ठ रहेकी छन्। उनको निधार, नाक र कम्मरमा भित्री चोट लागेको छ र अवस्था मध्यम रहेको छ। त्यसैगरी पोखरा महानगरपालिका–७ जिरो किलोमिटर निवासी ४६ वर्षीया बिन्दु बरालको बायाँ खुट्टा भाँचिएको छ। उनको अवस्था पनि मध्यम रहेको छ।
यस्तै सोही स्थानका ५० वर्षीय केशवप्रसाद बरालको बायाँ कुहिनो र काँधमा सामान्य चोट लागेको छ। ५३ वर्षीय देवेन्द्र बरालको बायाँ हातमा भित्री चोट लागेको छ भने ताप्लेजुङको श्रीजंघा गाउँपालिका–२ निवासी ३६ वर्षीय तारा कुँवरको छाती र बायाँ काँधमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था मध्यम रहेको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दानाबाट प्रहरी निरीक्षक जुद्धबहादुर थापाको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
स्कार्पियो चालक काभ्रेको फुलबारी नगरपालिका–२ घर भई हाल पोखरा–१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुलप्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।