एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई रु १ लाख २० हजार पुरस्कार वितरण

  • २२ जेष्ठ २०८३, शुक्रबार
  • 5 पटक पढिएको

माध्यमिक शिक्षा परीक्षा(एसइर्ई)मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद रु १ लाख २० हजार पुरस्कार वितरण गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका समाजसेवि कमल शाही(कुमार)ले एसइई परिक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको हो । रघुगंगा गाउँपालिका – २ र ३ नम्बर वडा राखुमा सञ्चालित तीन सामुदायिक विद्यालयबाट एसइई परिक्षा २०८२ मा ए प्लस ग्रेड ल्याउनेलाई रु १० हजार र ए ग्रेड ल्याउनेलाई जनही रु ५ हजार नगद पुरस्कार गरिएको हो ।
यस बर्ष रघुगंगा माविबाट ए प्लस ग्रेड ल्याउने १ जना र ए ग्रेड ल्याउने ७ जना, मुक्तिधाम माविबाट साधारण र प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने ३ जना र ए ग्रेड ल्याउने ६ जना, ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने १ जना र दृष्टिविहिन २ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
शाहीले यस बर्ष ए प्लस ग्रेड ल्याउने ४ जनालाई १० हजार र ए ग्रेड ल्याउने १४ जना र दुई जना दृष्टिविनिन गरी १६ जनालाई ५ हजारको दरले प्रोत्साहन पुरस्कार प्रदान गर्नुभएको हो । विगत ५ बर्षदेखि एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आउनुभएका शाहीले ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई जनही नगद रु ५० हजार दिने घोषणा समेत गर्नुभएको थियो ।
मुक्तिधाम माविका विद्यार्थीहरुलाई सोही विद्यालयमा पुरस्कार वितरण गरिएको छ भने ज्ञानोदय मावि र रघुगंगा माविका विद्यार्थीहरुलाई रघुगंगा मावि पिप्लेमा पुरस्कार वितरण गरिएको हो । पिप्लेमा आयोजित कार्यक्रममा रघुगंगा गाउँपालिका– ३ का वडा अध्यक्ष खिमबहादुर शाही, रघुगंगा माविका व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा र प्रअ रमेशसिंह ठकुरीले पुरस्कार वितरण गर्नुभएको थियो ।
सिंगापुर पुलिसबाट सेवानिवृत पिप्लेको घोटडाँडा निवासी समाजसेवि शाहीले यसअघि पनि राखु क्षेत्रमा रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै आउनुभएको छ भने विभिन्न सामाजिक क्षेत्रमा सहयोग समेत गर्दै आउनुभएको छ ।
सोही अवसरमा शाहीले आफ्नो बुबाको सम्झनामा रघुगंगा माविमा स्थापना गर्नुभएको रु ६ लाख ११ हजार राशीको देवबहादुर शाही अक्षयकोषबाट रघुगंगा माविका सबै कक्षाका विद्यार्थीहरुलाई विभिन्न विद्यामा पुरस्कृत गरिएको थियो ।