गणतन्त्र दिवसमा म्याग्दीका उत्कृष्ट निर्माण व्यवसायी सम्मानित
- १५ जेष्ठ २०८३, शुक्रबार
- 1 पटक पढिएको
म्याग्दी, जेठ १५ गते । गणतन्त्र दिवसका अवसरमा म्याग्दीमा विकास आयोजना समयमै तथा गुणस्तरीयरूपमा सम्पन्न गर्ने ११ वटा निर्माण कम्पनी तथा व्यवसायीलाई सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा पूर्वाधार विकास कार्यालय, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र कालीगण्डकी कोरिडोर आयोजनामार्फत उत्कृष्ट कार्यसम्पादन गरेका निर्माण व्यवसायीलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दी, कालीगण्डकी कोरिडोर आयोजना तथा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत विभिन्न समयमा विकास योजनाहरू सम्झौता गरी निर्धारित समयभन्दा अगावै सफलतापूर्वक सम्पन्न गर्दै व्यावसायिक निष्ठा तथा अनुकरणीय इमानदारीता प्रदर्शन गरेका निर्माण कम्पनी तथा व्यवसायीलाई सम्मान गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो । उहाँले सम्मानले राम्रो काम गर्नेहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मानित निर्माण कम्पनीका प्रतिनिधिहरूलाई जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी आचार्य, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा। महेन्द्रबहादुर बानियाँ तथा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
पूर्वाधार विकास कार्यालयमार्फत विभिन्न योजनाहरूको ठेक्का लिई निर्धारित समयमै सम्पन्न गर्ने निर्माण कम्पनीहरूमा ओमेन अस्कर निर्माण सेवा (मालिका–५, म्याग्दी), रुप्से बिल्डर्स प्रा.लि. (अन्नपूर्ण–३), सोमरस निर्माण सेवा (बेनी नगरपालिका–२), वीपीएल बीएसडी डिपी जेभी (टोखा–१०, काठमाडौँ), मंगला कन्स्ट्रक्सन प्रा.लि. (मंगला–२), मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रा.लि. (सुन्दरादेवी–२, नुवाकोट) र एसएस बिल्डर्स (बेनी नगरपालिका–८) रहेका छन् ।
यसैगरी खानेपानी, जलस्रोत तथा सिँचाइ विकास कार्यालयबाट विभिन्न योजनाहरूको ठेक्का सम्झौता लिई निर्धारित समयअगावै सम्पन्न गर्ने रुप्से बिल्डर्स प्रा.लि. (अन्नपूर्ण–३ दाना), महाशक्तिमाया कन्स्ट्रक्सन प्रा.लि. (बेनी नगरपालिका–६) र धौलाश्री निर्माण सेवा (रघुगंगा–३ पिप्ले)लाई पनि सम्मान गरिएको कार्यालय प्रमुख झलकमोहन ओझाले जानकारी दिनुभयो ।
त्यस्तै कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनीदेखि घाँसा खण्डमा चुनौतीपूर्ण भूगोल र संवेदनशील भूगर्भीय अवस्थामा समेत सफलतापूर्वक सडक निर्माण सम्पन्न गर्ने शर्मा–गजुरमुखी जेभी (काठमाडौँ)लाई सम्मान गरिएको आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी आचार्यले सम्मानले विकास योजनाहरू समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीलाई थप हौसला मिल्ने र ढिलासुस्ती गर्नेहरूलाई सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिको आयोजनामा बेनीमा प्रभातफेरी समेत निकालिएको थियो । प्रभातफेरीमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।