पिप्लेमा वडा कार्यालयको सेवालाई सहज बनाउन टोकन प्रणाली लागू

  • १३ जेष्ठ २०८३, बुधबार
  • 3 पटक पढिएको

म्याग्दी १३ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेको वडा कार्यालयमा सेवाग्राहीको सहजता र सेवा प्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरिएको छ । जिल्लामै बढी जनसंख्या भएको वडामध्ये मानिने पिप्लेमा दैनिक रूपमा विभिन्न प्रशासनिक तथा सिफारिस सम्बन्धी कामका लागि ठूलो संख्यामा सेवाग्राही आउने भएकाले सेवा प्रवाहलाई लक्षित गर्दै यो प्रणाली सञ्चालनमा ल्याइएको हो ।


वडा कार्यालयमा कुपन मेसिन, साउण्ड सिस्टम, नम्बर सिस्टम उपकरण जडान गरी सेवाग्राहीले टोकन लिएर पालैपालो सेवा लिने व्यवस्था मिलाईएको वडा सचिब सारदा कुमारी शाहीले बताउनुभयो । धेरै जनघनत्व भएको वडा भएकाले दैनिक रुपमा सेवाग्राहीको चाप बढी हुने र सेवा प्रवाह व्यवस्थित गर्न टोकन प्रणालीले सहयोग पुगेको उहाँले बताउनुभयो ।
टोकन प्रणाली लागू भएसँगै अब सेवा लिन आउने नागरिकले पालोका लागि अनावश्यक भीडभाड गर्नुपर्ने अवस्था हटेको छ । कार्यालयमा प्रवेश गरेपछि सेवाग्राहीले टोकन नम्बर लिने र सोही नम्बरका आधारमा क्रमशः सेवा दिइने व्यवस्था गरिएको छ । गाउँपालिकामा पहिलो पटक प्रयोगमा ल्याईएको टोकन प्रणालीले सेवाग्राहीलाई घण्टौँ लाइनमा बस्नुपर्ने झन्झट कम हुनुका साथै कर्मचारीलाई पनि सेवा व्यवस्थापन गर्न सहज हुने रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताउनुभयो ।
विशेषगरी जन्मदर्ता, मृत्यु दर्ता, बसाइँसराइ, नागरिकता सिफारिस, योजना भुक्तानी तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी कामका लागि दैनिक ठूलो चाप पर्ने गरेको वडा कार्यालयको भनाइ छ । सेवाग्राहीको संख्या बढ्दै जाँदा पहिले कार्यालयमा अव्यवस्थित भीड हुने, पालो मिचिने तथा सेवामा ढिलाइ हुने समस्या देखिएको थियो ।
टोकन प्रणालीको एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले टोकन प्रणालीबाट सेवा लिने कार्यको शूभारम्भ गर्नुभएको थियो । वडा कार्यालयको सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै थप डिजिटल सेवा विस्तार गर्ने तयारी गरिएको वडा अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिनुभयो स्थानीयवासीले पनि टोकन प्रणालीले सेवा लिन सहज भएको प्रतिक्रिया दिएका छन् ।