झिँमा सार्वजनिक सुनुवाईः स्वास्थ्य र शिक्षाको अवस्थामा सुधार ल्याउन माग

  • २७ चैत्र २०८२, शुक्रबार
  • 1 पटक पढिएको

म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँका स्थानीयले शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन माग गरेका छन् । आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्म गाउँपालिकाबाट भएको बजेट कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा शुक्रवार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले उक्त कुरामा जोड दिएका हुन् । सहभागीहरुले स्वास्थ्य चौकीमा सरकारले निशुल्क उपलब्ध गराउने औषधीको नियमित उपलब्धता गराउनुपर्ने, कार्यालय समय बाहेक समेत आकस्मिक उपचार सेवा दिने प्रवन्ध मिलाउनुपर्ने, गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवालाई प्रभाबकारी बनाउनुपर्ने, विद्यालयहरुमा बिषयगत शिक्षकहरुको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

त्यसैगरी सडकको स्तरोन्नती, पशुपालन गर्ने कृषकहरुलाई औजार उपकरणको व्यवस्थापन, जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्वको बजेटको कार्यान्वयन लगायतका बिषयमा गाउँपालिकाको ध्यानकर्षण गराएका थिए । सहभागीहरुले वडाको नवनिर्मिति भवनको झ्यालमा ग्रिल राख्ने र भवन परिसरमा पानी नियन्त्रणको लागि नाली बनाउने काम निर्माण व्यवसायिले अपुरै छाडेको प्रति प्रश्न उठाएका थिए ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष भवहादुर भण्डारीले वडा भवनको अपुरो कामलाई पुरा गर्न निर्माण व्यवसायिको ध्यानकर्षण गराउने र पुरा नगरे धरौटी रकम जफत गरेर भएपनि कामलाई पूर्णता दिइने बताउनुभयो । पालिकाले जनतालाई आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउन स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईहरुमा औषधी र जनशक्तिको व्यवस्थापनमा ध्यान दिँदै आएको उहाँले बताउनुभयो । उहाँले गाउँपालिकाले विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न आबश्यकताका आधारमा बिषयगत शिक्षक समेत नियुक्त गरिरहेको जानकारी गराउँदै आगामी शैक्षिक सत्रदेखि पालिकाले स्थानीय पाठ्यक्रम समेत लागू गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
काठमाण्डौ महानगरपालिकाबाट उपलब्ध भएको एम्बुलेन्सलाई पालिकाले कार्यविधि समेत बनाएर चालक नियुक्त गरी सञ्चालनमा ल्याएको जानकारी गराउँदै यसलाई अझ प्रभाबकारी रुपमा सेवा उपलब्ध गराउने प्रयासमा पालिका जुटेको अध्यक्ष भण्डारीले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले आकस्मिक रुपमा भएको निर्वाचनको आचार संहिताको कारण केहि साता औषधी खरिदमा ढिलाई भएको बताउँदै अहिले सबै स्वास्थ्य संस्थामा औषधी प्रयाप्त मात्रामा उपलब्धता रहेको जानकारी दिनुभयो ।


कार्यक्रममा स्वास्थ्य चौकीका इन्चार्ज सुनिता श्रेष्ठले साधारण उपचारमा कार्यालय समय तथा आकस्मिक र बर्थिङ सेन्टरको सेवा चौविसै घण्टा दिदै आएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले वडामा सञ्चालिन विकास निर्माण योजना र बजेटलाई गाउँभेला मार्फत पारदर्शी रुपमा छनौट र कार्यान्वयन गर्दै आएको बताउँदैे समाजघरमा पूर्वाधार निर्माण गर्ने योजनालाई प्राथमिकता दिएर अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले पालिकाले चालु आर्थिक बर्षको दोस्रो चौमासिक सम्म हाँसिल गरेको उपलब्धीहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार, पालिकाले हालसम्म चालु तर्फ १५ करोड ६२ लाख र पुँजीगततर्फ रु ३ करोड १५ लाख बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले १४० वटा योजना छनौट गरेकोमा ९६ वटा योजना सम्झौता भई निर्माण चरणमा रहेको र ४८ पटा योजनाको कार्य सम्पन्न भएको जानकारी दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र सदस्य कमल खत्रीले सहजीकरण गर्नुभएको थियो ।