थाली नाचका सर्जक हिरामाया पुन श्रीसलाई सम्मान
- २६ चैत्र २०८२, बिहीबार
- 1 पटक पढिएको
म्याग्दी, २५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको थाली नाचका सर्जक हिरामाया पुन श्रीसलाई सम्मान गरिएको छ । भूमे पूजाको अवसरमा चिमखोलामा आयोजित खेलकुद तथा साँस्कृतिक मेलाको अवसरमा चिमखोले समाज युके र चिमखोले समाज बेल्जियमले थाली नाचको सुरुवात गरी गाउँको नामलाई देश तथा विदेशमा चिनाउन सफल भएकोमा सर्जक पुनलाई समान गरेका हुन् ।
कार्यक्रममा चिमखोले समाज युकेका अध्यक्ष मोति तिलिजा, उपाध्यक्षद्धय चौबहादुर पुन र मनबहादुर तिलिजा तथा चिमखोले समाज बेल्जियमका तमप्रसाद पुनले सर्जक पुनलाई फुल, मालासहित सम्मान पत्र र नगद रु ८ हजार सहित सम्मान गर्नुभएको थियो । उहाँलाई मगर भेषभूषा समेत प्रदान गरिएको थियो ।
चिमखोलामा वि.स. २००८ सालमा जन्मनुभएकी कलाकार पुनले घरमा खाना खाएर थाल धुनका लागि धारामा जाने आउने क्रममा हातमा थाल नचाउन सिक्नुभएको थियो । पछि गाउँमा आफुले दुबै हातमा थाल राखेर थाललाई नचाउन सक्ने कौसल देखाउन सक्ने भएपछि गाउँका अग्रजहरुले गीतको तालमा थाली नचाउन लगाएपछि औपचारिक रुपमा आफुले थाली नाच देखाएको पुनले बताउनुभयो ।
पुनले जिल्ला र तत्कालिन अञ्चलस्तर हुँदै वि.स. २०२५ सालमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाण्डौमा पहिलो पटक राष्ट्रिय स्तरमा थाली नाच देखाउनुभएको थियो । चिमखोला गाउँको इतिहास र परिचय पुस्तकमा भारतीय सेनाका हवल्दार थमन पुनले समेत वि.स. २०१३ सालमा गाउँमा थाली र खुकुरी नाच देखाएको उल्लेख छ । यद्यपी हिरामाया श्रीषले भने आफुले तत्कालिन समयमा कसैबाट नभइ बाल्यकालमा थालसंग खेल्नेक्रममा हातमा थाल नचाउने कौसल सिकेको बताउनुभयो ।
चिमखोलाबाट सुरु भएको थाली नाच अहिले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपाली समुदायमा समेत लोकप्रिय नाचको रुपमा परिचित छ । दुबै हातमा थाल राखेर थाललाई नचाउँदै आफु समेत नाच्ने भएकाले थाली नाच आकर्षक नृत्यको रुपमा चिनिदै गएको छ । भूमे पूजाको अवसरमा युकेमा रहनुभएकी चिमखोलाकी फमाया तिलिजाले गाउँका ज्येष्ठ नागरिक ८९ बर्षिय पबहादुर तिलिजा र ९६ बर्षिय हरिकला गर्बुजालाई जनही नगद रु ५ हजार सहित सम्मान गर्नुभएको थियो ।
