म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको भारी मतको अग्रता
- २२ फाल्गुन २०८२, शुक्रबार
- 9 पटक पढिएको
म्याग्दी , २२ फागुन । म्याग्दीमा स्वतन्त्र उम्मेदवार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले निरन्तर अग्रता कायम गर्नुभएको छ । बेनी स्थित मुख्य निर्वाचत अधिकृतको कार्यालयमा जारी मतगणनामा जिल्लाको तीन पालिकाको मतगणनामा पुनले अग्रता कायम गर्नुभएको हो ।
जिल्लाको धवलागिरी, मालिका र मंगला गाउँपालिकाको मतगणना सकिँदा पुनले ९ हजार १२१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ३ हजार चारसय ५६ मत ल्याउनुभएको छ । त्यसैगरी नेकपाका अर्जुन थापाले २ हजार १९२ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले २१३९ मत प्राप्त गर्नुभएको छ ।

धवलागिरिमा जम्मा मतदाता दश हजार ८ सय ३१ मतदाता रहेकोमा ५ हजार तीनसय ३८ मत खसेको थियो भने मालिका गाउँपालिकामा १३ हजार ३ सय ५५ मतदाता रहेकोमा ६ हजार ६ सय ५७ मत खसेको थियो । मंगला गाउँपालिकामा १३ हजार चारसय ४६ मतदाता मध्य ७ हजार २८ मत खसेको थियो ।
म्याग्दीमा बेनी नगरपालिका,रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाको मतगणना गर्न बाँकी छ । शनिबार दिउँसोसम्म मतगणना सक्ने गरी धमाधम मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र, नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा,राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी) चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), मंगोल नेशनल अर्गनाइजेसन, श्रम संस्कृति पाटी,राष्ट्रिय जनमोर्चाबाट र नेशलनल रिपब्लिक नेपाल चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको छ ।