म्याग्दीमा ५४ प्रतिशत मत खस्यो
- २१ फाल्गुन २०८२, बिहीबार
- 89 पटक पढिएको
म्याग्दी, २१ फागुन : आज भएको प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लामा ५४ दशमलब दुई प्रतिशत मत खसेको छ । ८६ हजार तीन सय ९७ मध्य ४६ हजार आठ सय ९३ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २५ हजार एक सय १८ जना महिला, २१ हजार सात सय ७४ जना पुरुष र एक जना यौनिक अल्पसंख्यकले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिनुभयो ।

म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटा वडामा रहेका एक सय २० वटा स्थायी र दुई वटा अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भएको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले जानकारी दिनुभयो ।

मतदान स्थलबाट बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्न थालिएको छ । बिहिबार रातीसम्म सडक मार्गबाट बेनीमा मतपेटिका संकलन गरिसक्ने, शुक्रबार बिहान सात बजे सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिको भवनमा मतेपटिका संकलन गरि समानुपातिक र प्रत्यक्षतर्फको दुई वटा कोठामा राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थितिमा शिलबन्दी गरेर मतपेटिका भण्डारण गरिने भएको छ ।

मतेपटिका भण्डारण र मतगणना स्थलमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मतगणना स्थलमा तारजाली लगाएर ठाउँ बनाइएको छ । दुई वटा समूहमा मतगणना गरिने मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिनिधीसभामा एक वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ११ जना राजनीतिक दल र एक जना स्वतन्त्र उमेद्वार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार महाविर पुन मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

१२ हजार २९ जना मतदाता रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा छ हजार पाँच सय ९४ मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ । १० हजार आठसय ३१ जना मतदाता रहेको धवलागिरी गाउँपालिकामा पाँच हजार तीन सय ४६ मत खसेको छ ।


