बेनीमा मतगणना स्थल तयार

  • १९ फाल्गुन २०८२, मंगलवार
  • 1 पटक पढिएको

फागुन २१ गते हुने निर्वाचनको मतगणनाका लागि म्याग्दी सदरमुकाम बेनीमा मतगणना स्थल तयार पारिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको सभाहलमा सुरक्षित मतगणन स्थल बनाउन तारजाली लगाएर मतगणना स्थल तयार पारेको हो । मतगणनालाई सुरक्षित, व्यवस्थित तवरले सम्पन्न गर्न मतगणना स्थललाई तारजाली लगाईएको र सिसी टिभी जडान लगायतका कामहरू सम्पन्न भएको सहायक जिल्ला निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, मतगणना स्थलमा मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन तारजाली र सिसी टिभीको व्यवस्था गरिएको हो। मतगणना स्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन र मतपत्रको समेत सुरक्षालाई ध्यानमा राखेर तारजाली लगाइएको जनाईएको छ।

मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको छ। ‘मतगणना सुुरु भएपछि गणना स्थलको समेत सुरक्षा व्यवस्था कडा बनाउन आबश्यक प्रवन्ध गरिएको छ । जिल्लाका सबै मतदान केन्द्रबाट विहिवार नै मतपेटिकाहरु बेनीमा ल्याउने भएकाले मतपेटिका भण्डारण गर्ने ठाउँ समेत तयार पारिएको छ । मतदान सकिएर सबै मतपेटिका बेनीमा ल्याइसकिएपछि मात्रै सर्वदलिय बैठक गरेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।