म्याग्दीमा निर्वाचनमा खटिने कर्मचारीलाई निर्वाचन सामग्री बुझाउन सुरु

  • १७ फाल्गुन २०८२, आईतवार
  • 19 पटक पढिएको

म्याग्दी १७ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका कर्मचारीहरुलाई म्याग्दीमा निर्वाचन सामग्री प्रदान गर्न सुरु गरिएको छ । निर्वाचनका लागि मतदान केन्द्रहरुमा खटिने कर्मचारीहरुलाई नियुक्ति पत्र प्रदान गरी आबश्यक तालिम दिएर मतदानका लागि आबश्यक पर्ने मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामाग्रीहरु बुझाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार, निर्वाचनका लागि जिल्लामा १ हजार ७४ जना कर्मचारी परिचालन हुँदै छन् । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई अभिमुखिकरण गरी निर्वाचन सामग्रीहरु बुझाएर सम्बन्धित मतदान स्थलमा पठाउन थालिएको छ । निर्वाचनका लागि आबश्यक पर्ने विभिन्न ५२ प्रकारका निर्वाचन सामग्रीहरुमध्ये मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाउन थालिएको छ ।

मतदानस्थल टाढा रहेका धबलागिरी गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीहरुलाई आइतवार नै निर्वाचन सामग्री बुझाइएको छ भने मंगला गाउँपालिका र बेनी नगरपालिकाका मतदानस्थलहरुमा खटिएका कर्मचारीहरुलाई सोमबार निर्वाचन सामग्री बुझाउने गरी तयारी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन सम्पन्न गराउन मतदान केन्द्रमा खटिने कर्मचारीहरु सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने,मतदानस्थल वरपर राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरु हटाउन लगाउने, निर्वाचन आचारसहिंताको अनुगमन गर्ने लगायतका निर्वाचनसम्बन्धी कामहरुको तयारी सुरु गर्ने तयारी गरिएको छ । म्याग्दीमा निर्वाचन सम्पन्न गर्न एक सय २२ मतदान अधिकृत, एक सय २२ सहाहयक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् ।
प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा रहेका छन भने जिल्लामा कुल ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् । जिल्लामा मतदानका लागि ८२ वटा मतदानस्थलमा १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ भने कारागार र कर्मचारीहरुको समानुपातीक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।