भगवाती र बेगमा नेकपाका नेताको आग्रहः ‘हामीले गरेका कामको आधारमा मत दिनुस’
- ८ फाल्गुन २०८२, शुक्रबार
- 5 पटक पढिएको
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसारको क्रममा नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र १ बेगमा चुनाबी भेला गरेका छन् । बेग र भगवतीका विभिन्न टोल र बस्ती स्तरमा पुगेर मतदाता भेटघाट र चुनाबी भेला गरेका नेकपाका टोलीले विकास निर्माणमा नेकपाले गरेको भूमिका र योगदानको आधारमा मतदान गर्न आग्रह गरेका छन् ।

बेग, भगवती मैदान, खहरेखोला, राममन्दिर, रिसिनचौतारी लगायतका बस्तीमा नेकपाका केन्द्रिय सदस्य कृष्णकुमार विश्वकर्मा, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जाली, पूर्व गण्डकी प्रदेश सभा सदस्य विनोद केसी लगायतले नेकपाको पहलमा भएका विकास निर्माणका कार्यहरुको मुल्यांकन गरेर मत दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती र ३ पिप्ले क्षेत्रका नागरिक लाभान्वित हुने पिप्ले– भगवती सडक कालोपत्रे, भगवती–बेग सडक स्तरोन्नती योजना सञ्चालन, बैँसरी–रिसिनचौतारी–ओखरबोट भगवती सडक स्तरोन्नती योजना सञ्चालन, एक घर एक धारा खानेपानी आयोजना लगायतका कामको अगुवाई गरेकाले आगामी निर्वाचनमा नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले भगवती मैदान–वडा कार्यालय जोड्ने सडक स्तरोन्नतीको लागि बजेट विनियोजन, बेगको टोल नम्बर २मा ढल र सडकका लागि बजेट विनियोजन, धौलेश्वर मन्दिरमा पूर्वाधार निर्माण, तिप्ल्याङ बाँदुक सडक स्तरोन्नती, बाँुदकमा चिसाई योजना निर्माणमा समेत बजेट विनियोजनमा आफुहरुले भूमिका खेलेको बताउँदै विकास निर्माणमा गरेको योगदानको आधारमा जनताले भोट दिनुपर्ने धारणा राख्नुभयो ।
नेकपाका उम्मेदवार अर्जुन थापाले गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जाली र हरि बहादुर भण्डारीले जिल्लामा विकास निर्माणमा थालेका अभियानहरुलाई थप बढाउन केन्द्रिय तहमा पहुँच बढाउन आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले बेग र राखु क्षेत्रमा रहेका सडक, खानेपानीलगायतका भौतिक पूर्वाधार निर्माणलाई पूर्णता दिने र राखुक्षेत्रमा रहेको गुठी समस्या समाधानमा आफुले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत जनाउनुभयो । चुनाबी अभियानमा गण्डकी प्रदेश कमिटी सदस्य चिना हमाल, पुनम खड्का, रिम कटुवाल लगायतका नेताहरुको समेत सहभागीता रहेको छ ।
