मुस्ताङ पुगेर प्रधानमन्त्री कार्किद्वार निर्वाचन तयारीबारे छलफल
- ८ फाल्गुन २०८२, शुक्रबार
- 29 पटक पढिएको
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार मुस्ताङ जिल्लाको भ्रमण गर्नुभएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुग्नुभएकी प्रधानमन्त्री कार्कीलाई जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता शर्मा तथा जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाको नेतृत्वमा स्वागत गरिएको थियो। स्वागतका क्रममा जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्व दुवै महिला रहेको देखेपछि प्रधानमन्त्री कार्की खुसी हुनुभयो। सामान्य भलाकुसारीपछि उहाँले “मुस्ताङ त महिलाले नेतृत्व गरेको जिल्ला रहेछ” भन्दै प्रसन्नता व्यक्त गर्नुभयो।
त्यसपछि प्रधानमन्त्री कार्कीले स्वयं सीडीओ शर्मा र डीएसपी लामासँग संयुक्त रूपमा तस्बिर खिच्ने आग्रह गर्नुभयो। प्रधानमन्त्रीकै पहलमा देशकै महिला प्रधानमन्त्रीसँग जिल्लाको प्रशासन र प्रहरी नेतृत्व गरिरहेका दुई महिला अधिकारीको एकै फ्रेममा तस्बिर खिचिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। प्रधानमन्त्रीको आत्मीय व्यवहारप्रति सीडीओ शर्मा र डीएसपी लामा पनि खुसी देखिनुभएको थियो। सीडीओ शर्माले प्रधानमन्त्रीको प्रेरणाले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न थप हौसला मिलेको प्रतिक्रिया दिनुभयो।
भ्रमणकै क्रममा प्रधानमन्त्री कार्कीले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभयो। साथै, जोमसोममा रहेको नेपाली सेनाको इन्द्रबक्स गणमा आयोजित निर्वाचन लक्षित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भई निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्रीको निर्देशनबारे जानकारी दिँदै सीडीओ शर्माले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न, अहिलेसम्म राम्रो तयारी भएको भन्दै कुनै समस्या नआउने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ।”